मुगु — छायानाथ–रारा नगरपालिकाले पाँच लाखभन्दा माथिका सम्पूर्ण पूर्वाधारका योजना ठेक्काबाट सञ्चालन गर्ने निर्णय गरेको छ । उपभोक्ता समितिद्वारा सञ्चालन गर्दा रकम हिनामिना गर्ने क्रम बढेको भन्दै ठेक्कामार्फत योजना कार्यान्वयन गर्न थालिएको हो ।नगरपालिकाले उपभोक्ता समितिमा बस्न हानथाप हुन थालेपछि त्यसको विकल्पमा जाने निर्णय गरेको हो । नगरप्रमुख हरिजंग शाहीले चालु आर्थिक वर्षका योजनामा उक्त नियम लागू हुने जानकारी दिए ।
ठेकेदारको काम गुणस्तरीय भए/ नभएको बारे नगरले कडाइका साथ अनुगमन गर्ने उनको भनाइ छ । उपभोक्ता समितिमा धेरै व्यक्ति हुँदा कारबाहीमा समस्या भएको उनको भनाइ छ । ‘समितिमार्फत काम गर्दा गुणस्तरीय नहुने समस्या पनि छ,’ उनले भने, ‘कामै नगरी खाने प्रवृत्ति मौलाएकाले पनि त्यसलाई रोक्न खोजिएको हो ।’ उनले भ्रष्टाचार न्यूनीकरण गर्न पनि योजना ठेक्कामा दिन लागेको जनाए ।