सहकारी मार्फत आत्मनिर्भर बन्दै महिला

सहकारीको माध्यमबाट आर्थिक बचत गर्नका लागी रुकुममा पुरुष भन्दा महिला बढी सक्रिय छन् । सरकारले पनि सहकारीको अवधारणा अनुसार काम गर्न सर्वसाधारणका निम्ती कार्यक्रम ल्याएको अवस्थामा सहकारीले स्थानीय स्तरमा आत्मनिर्भरताको बलियो आधार तयार गरेको सरोकारवालाले बताएका छन् ।

सहकारीले महिला तथा पछाडी पारेका समुदायको आर्थिकउपार्जन राम्रो बनाउन सहयोग गर्ने अपेक्षा स्थानीयको छ । महिलालाई आत्मनिर्भर बनाउन सहकारीले राम्रो सहयोग गर्ने त्रिबेणी गाँउपालिकाका उपाध्यक्ष निर्मला बिष्टको भनाई छ । गत आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा रहेको एक सहकारी संस्थाले एक करोड बढी मुनाफा गरेको जानकारी दिएको छ । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका–१ मा रहेको डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्ष एक करोड एक लाख ७९ हजार दुई सय ७५ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ ।

सहकारीले तीन करोड २६ लाख १३ हजार सात सय ८६ रुपैयाँ आम्दानी गरेको र त्यसमा दुई लाख २४ हजार ३४ हजार पाँच सय ११ रुपैयाँ खर्च भई उक्त रकम सहकारीलाई खुद मुनाफा भएको जानकारी सहकारीको साधारणसभामा दिइएको हो । सहकारीले १६ करोड ६२ लाख २५ हजार सात सय १३ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदन मार्फत जानकारी गराएको छ ।

तीन हजार पाँच सय ९६ जना शेयर सदस्य रहेको सहकारीमा अहिले २२ करोड ६ लाख पाँच हजार दुई ४९ रुपैयाँ शेयर रकम रहेको सहकारीका निवर्तमान अध्यक्ष रामबहादुर विष्टले जानकारी दिनुभयो । २०६३ सालमा स्थापना भएको सहकारीले जिल्लाका विभिन्न ठाउँमा घर निर्माण, साधारण, मौसमी, आक्समिक, लघुउद्यम लगायका शिर्षकमा कर्जा लगानी गर्दै आएको छ ।

सहकारी मार्फत विभिन्न रेमिटान्स सेवा समेत सञ्चालन हुँदै आएको छ । सहकारीकारीले जिल्लाको आठबीसकोट, झुल्नेटा र रुकुम (पूर्व)को रुकुमकोटमा सेवा कार्यालय स्थापना गरेर सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । अब जिल्लाको रुकुम (पश्चिम)को चौरजहारी र रुकुम (पूर्व)को तकसेरामा पनि सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताइएको छ ।

यसैगरी सो सहकारीको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा भएको अधिवेशनले बेदप्रसाद पोखरेल (शर्मा)को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति छनौट गरेको छ । सहकारीको उपाध्यक्षमा मनिषा भण्डारी, सचिव ज्ञानु शर्मा र कोषाध्यक्षमा कालुराम खड्का (मोहबिर) छनौट भएका छन् ।

यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष रामबहादुर विष्ट, यज्ञबहादुर केसी र गोकर्ण खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रत्नबहादुर खड्काले जानकारी दिनुभयो । सहकारीले अवका दिनमा झनै नयाँ उर्जाका साथ काम गर्ने व्यवस्थापक यज्ञबहादुर बिष्टले बताउनुभयो ।नेपाल समाचार पत्रबाट

प्रकाशित मितिः १ पुष २०७५, आईतवार १७:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *