उजाड पाखा हरियाली

हरियो वन मासिने क्रम बढेको छ । कतिपय ठाउँमा त ‘हरियो वन तस्करको धन’ भनेर व्यंग्य गरिन्छ । तर, कालिकोटको खाँडाचक्र नगरपालिका–५ दाहाँ घोडेनाको जनकल्याण सामुदायिक वनका उपभोक्ताले भने उजाड पाखालाई हरियाली बनाएका छन् । ३० वर्षअघि गरेको वृक्षरोपणले अहिले हरियाली भएको हो । सामुदायिक वनमा सल्ला र देवदारका रूख रोपिएका थिए ।

दाहाँको घोडेना गाउँमा पानीको सधैँ अभाव भयो । गाउँमाथिको उजाड डाँडाका कारण बर्सेनि खडेरी पर्ने र यो ठाउँ सुक्खा भूमिमा परिणत हुँदै गयो । डाँडापाखा उजाड हुँदै गएपछि स्थानीय बासिन्दाले रूख रोपेर गाउँलाई हरियाली बनाउने योजना बनाए । तर, रोप्ने रूख कताबाट ल्याउने ? कसरी रोप्ने समस्या आइलाग्यो ।गाउँका अगुवा नैनबहादुर शाही र शिक्षक भक्तबहादुर शाहीले दातालाई गुहारे । ०४५ मा जनकल्याण सामुदायिक वन गठन गरे । उनीहरूले डेनमार्क सरकारको सहयोगमा ८० हजार सल्ला र देवदारका बिरुवा रोपे । त्यसमध्येका करिब ५ हजार बिरुवा मात्र अहिले हुर्केका तत्कालीन जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नैनबहादुर शाहीले बताए । ‘त्यतिवेला डेनमार्क सरकारले वृक्षरोपणका लागि सल्ला र देवदारका रूख सहयोग गरेको थियो,’ उनले भने, ‘ती रूखमध्ये अहिले ५ हजार रूख मात्र बाँच्न सफल भएका छन् ।’

रूख काट्दा पीडा
३० वर्षअघि वृक्षरोपण गरेर अहिले हरियाली जंगल भएको जनकल्याण सामुदायिक वनको जंगलमा कसैले रूख काटेको देख्दा आफैँलाई काटेझैँ लाग्ने गरेको ०४५ मा वृक्षरोपण गरेका ८० वर्षीय नैनबहादुर शाही बताउँछन् । ‘यो जनकल्याण सामुदायिक वनको जंगलमा कसैले रूख काटेको देख्दा मेरै शिर काटेजस्तो लाग्छ,’ भावुक हुँदै उनले भने, ‘यो हरियाली बनाउन कम्ता दुःख भएको होइन ।’

हरियाली जंगलमा कसैले आगो लगाइदिने गरेका कारण अहिले केही रूख मासिएर गएका छन् । जंगल बचाउन धेरै मिहिनेत गर्नुपरेको शिक्षक भक्तबहादुर शाहीले बताए । ‘यो उजाड भूमिलाई हरियाली बनाउन धेरै मिहिनेत गर्नुपरेको थियो,’ उनले भने, ‘बर्सेनि फटाहाहरूले आगो लगाउने गरेका कारण रूख मासिने चिन्ता बढेको छ ।’

८० हजार बिरुवा रोपिँदै
३० वर्षअघि रोपिएका रूख कतिपय आफैँ ढल्ने र कतिपय आगोले मासिँदै गएपछि यहाँका युवा थप रूख रोप्ने र वनक्षेत्र घेरबार गर्न लागेका छन् । भएको हरियो जंगल मासिँदै गएकाले थप रूख नरोपे गाउँको सौन्दर्य नै नरहने भएकाले आफूहरू जंगलको घेरबार र थप वृक्षरोपण गर्न लागेको जनकल्याण सामुदायिक वन समूहका अध्यक्ष मनसिंह शाहीले बताए । ‘पुराना रूखहरू मासिँदै जान थाले,’ उनले भने, ‘गाउँलाई थप हरियाली बनाउन वृक्षरोपण र घेरबार गर्न लागेका छौँ ।’ नयाँ पत्रिकाबाट

प्रकाशित मितिः ७ पुष २०७५, शनिबार १४:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *