कर्णालीको पर्यटन प्रर्वद्धन गर्न नयाँ अभियान

सुर्खेत, २५ माघ ।
पर्यटन व्यवसायी बिशु सिंजालीले कर्णालीको पर्यटन प्रर्वद्धन गर्न नयाँ अभियान थालेका छन् । पानीजन्य रोगको कारण वर्षेनी झाडापखाला लगायतका समस्या झेल्दै आएको कर्णालीका सरकारी विद्यालय र बस्तीलाई पानी शुद्ध गर्ने उपकरण वितरणको अभियान थालेका हुन् ।
पर्यटकले सवैभन्दा पहिला शुद्ध खानेपानी भए÷नभएको सुनिश्चिता खोज्ने भएकोले कर्णालीका बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्छन र पाइन्छ भन्ने सन्देश दिनको लागि यो अभियान थालेको उनले बताए । विदेशी पर्यटक शुद्ध खानेपानी भएको ठाउँमा जान्छन् । पानीजन्य रोगबाट बढी प्रभावित विद्यालय र समुदायलाई पहिलो प्राथमिकतामा राखेर थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिव ५० वटा सरकारी विद्यालयलाई पानी शुद्ध गर्ने उपकरण दिइको उनले जानकारी दिए ।

डेढ दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध उनले कर्णाली घुम्न आउने हरेक पर्यटकलाई एउटा/ एउटा उपकरण किन्न लगाएर उसकै हातवाट हन्तान्तरणको व्यवस्था पनि मिलाइएको बताए । सामाजिक क्लोरिन मेकर्स नामक यो उपकरणलाई करिव ४५ हजार रुपैया पर्छ । विद्यार्थी संख्याको आधारमा विद्यालयको लागि चाहिने प्लाष्टिकको टंकी भने आफ्नै खर्चमा किनेर दिने गरेको उनले उल्लेख गरे । सानैदेखि सामाजिक काममा सक्रिय ३२ बर्षिय सिंजालीले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम सामाजिक काममै खर्चिदै आएका छन् ।


अल्टिच्युट राइडर्स प्रालीका संचालन गदै आएका उनले माउण्टेन सेफ्टी रिर्सच फाउण्डेसन अन्तर्गतको ग्लोवल हेल्थसँगको सहकार्यमा अभियान थालेको बताए । आउने बर्षदेखि खानेपानीको धाराको टुटी र ह्याण्ड पम्पमा यो उपकरण जोड्ने उनको योजना छ ।
पुर्खेलीघर सुर्खेतको तरंगा भएका सिंजालीले पर्यटकलाई हिमाल चढाउने, जीव सफारी गराउने र मोटरवाइकमा टुर गराउदै आएका छन । पोखरा र काठमाडौलाई बेस बनाएर पर्यटन व्यवसाय गदै आएका उनले भने, अब आफ्नै प्रदेशमा केही गर्नुपर्छ भनेर अभियान अघि बढाएको हुँ । उनले आफ्नो सम्पर्कमा आउने सवै विदेशी पर्यटकलाई एक वर्षदेखि कर्णाली घुमाउँने गरेका छन् ।


कर्णालीको कला र संस्कृतिले पर्यटकको मन जिते पनि सरसफाई र शुद्ध खानेपानीको अभावले गर्दा उनीहरुलाई धेरैदिन विताउन समस्या हुने गरेको उनले बताए । कर्णालीका गाउँबस्तीमा शुद्ध पानी पाइन्छ र यहाँका बासिन्दाले शुद्ध खानेपानीको प्रयोग गर्छन भन्ने सन्देश प्रवाह हुन वित्तिकै विदेशी पर्यटक ओइरिने भएकोले यो अभियान एकदमै जरुरी र धेरै महत्वपूर्ण रहेको उनको दावी छ ।
सरसफाई र शुद्ध पिउने पानीको व्यवस्था गर्न सके धेरै पर्यटकलाई कर्णालीका बस्तीबस्तीमा घुमाउन सकिने उनले बताए । पर्यटन विकासको प्रचुर सम्भावना रहेको कर्णालीमा पर्यटन पूर्वाधार विकास र पर्यटन सुरक्षाका साथै प्रयाप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । कर्णालीको पर्यटन प्रर्वद्धन गर्न प्रदेश सरकारले ठोस योजना बनाउनु पर्नेमा उनले जोड दिए । कर्णालीमा घुम्न आउँने पर्यटकको स्वागत सत्कार, सुरक्षा, सरसफाई, कला संंस्कृतिको प्रर्दशन जस्ता कुराहरुलाई ध्यान दिएर योजना बनाउनु पर्ने उनको सुझाव छ ।

प्रकाशित मितिः २५ माघ २०७५, शुक्रबार ०६:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *