बैंक नहुँदा समस्या

बद्री पन्त
जाजरकोट ७, चैत
जाजरकोट सरकारले सुरक्षा दिन नसक्दा जाजरकोटका तीन स्थानीय तहमा बैंकिङ सेवा सन्चालन हुन सकेका छैन। सुरक्षा नभएको भन्दै सेवा सञ्चालन गर्न नसकिएको बैंकहरूले जनाएका छन् । जिल्लाका बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा बैंक स्थापना भए पनि असुरक्षाको कारण देखाउँदै बैंकहरूले सेवा सुरु नगरेको जनाएका छन् ।


बैंक नहुँदा गाउँको काम प्रभावित भएको छ । तीनवटा गाउँपालिकाले बैंक स्थापना हुन नसकेको कारण देखाउँदै सदरमुकाममै सम्पर्क कार्यालय खोलेर सेवा प्रवाह गरिरहेका छन् । स्थानीय तहमा स्थापना हुने बैंकको सुरक्षाका लागि गृह मन्त्रालयमा अस्थायी प्रहरी पोस्ट माग गरिएको चार महिना बित्यो। तर, हालसम्म सुनुवाइ नभएको जुनीचाँदे गाउँपालिकाका कृष्णबहादुर केसीले बताउनु भयो । बैंक स्थापना हुने बारेकोट–२ लिम्सा, कुशे–६ भार्म र जुनीचाँदे–४ लुहादहमा प्रहरी चौकी छैन ।
सुरक्षा नहुँदासम्म बैंकिङ कारोबार गर्न नसकिने बैंकहरूले बताएपछि तत्कालका लागि अस्थायी प्रहरी पोस्ट माग गरिएको हो । तर, अहिलेसम्म उक्त मागका सम्बन्धमा कुनै कारबाही नभएपछि केही दिनअघि प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको अध्यक्षतामा सबै स्थानीय तहका प्रमुखसहित समन्वय बैठकले पुनः बैंक स्थापनाका लागि नेपाल सरकार र गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तै छेडागाडको थलह बजारमा जनता बैंक स्थापना भएर सेवा आरम्भ गरिसकेको भए पनि अहिलेसम्म सुरक्षा पोस्ट नहुँदा एकघण्टा टाढा रहेको बडावन इलाका प्रहरीले सुरक्षा दिने गरेको छ ।
सुरक्षाकै लागि तीन गाउँपालिका र एक नगरपालिकामा बैंक सुरक्षाको लागि अस्थायी प्रहरी पोस्ट माग गरिएको प्रजिअ बस्नेतले बताउनु भएको छ । जिल्लाको बारेकोट गाउँपालिकामा कृषि विकास बैंकको शाखा स्थापना गरेको तीन महिना बितिसक्यो । तर, सेवा सुरु हुन सकेको छैन । बैंकले सुरक्षा नहुँदासम्म सेवा आरम्भ गर्न नसकिने अडान लिएका छन । कृषि विकास बैंक बारेकोट शाखा प्रवन्धक जोग बहादुर खड्काले सञ्चार तथा सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा बैंकिङको सेवा प्रवाहमा ढिलाइ भएको बताउनु भएको ।

प्रकाशित मितिः ७ चैत्र २०७५, बिहीबार १५:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *