जाजरकोट, २५ बैसाख ।
भेरी नगरपालिका ४ बोहरा निवासी माधव चन्दको २०६६ सालमा किड्नी फेल भएर मृत्यु भयो । बाबुको मृत्यु भएको एक दशक नवित्दै छोरा सञ्जिव दुवै मृगौला फेल भएर मृत्यु सँग संघर्ष गरिरहेका छन् ।
सँगै मर्ने सँगै बाँच्ने कसम खाएका श्रीमानको अल्पायुमै मृत्यु भएको र कमाई गर्ने उमेरको लक्का जवान छोराको दुवै मृगौला फेल भएपछि आमा नम्रता यतिवेला निकै तनावमा छिन् । घरको आर्थिक अवस्था निकै नाजुक रहेको चन्द परिवार अहिले भक्तपुुरमा डेरा लिएर बसको छ । छोरा दुई बर्ष देखि विरामी छ । छोरी क्याम्पस पढ्दैछिन । तीन जनाको परिवारको गुजरा र छोराको डाईलोसिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर नम्रता निकै समस्यामा परेकी छन् ।
२४ बर्षिय सञ्जीवको भक्तपुर स्थित शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नियमित डाईलोसिस भईरहेको छ । डाईलोसिस निशुल्क भएपनि रगत चढाउनु पर्दा र सुई लगाउनु पर्दा पैसा आफैले तिर्नुपर्छ । प्रत्येक हप्ता डाइलोसिस गर्नुपर्छ । त्यतिवेला कम्तिमा तीन हजार रुपैया खर्च लाग्छ । म कसरी खर्च जुटाउँ ? नम्रताले समस्या सुनाउँदै भनिन ‘छोरालाई बचाउन डाईलोसिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोराको ब्लड गु्रप ए हो । मेरो बी हो । सहयोग गर्ने कोही छैनन् । किनेर प्रत्यारोपण गर्ने सामथ्र्य छैन । कसरी छोरा बचाउँ ?’ ।
‘श्रीमान बनस्पति कार्यालय सल्यानमा सहयोगी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । एक छोरा, एक छोरी । चार जनाको परिवार । राम्रै सँग चलेको थियो । त्यही विचमा श्रीमानको मृगौला फेल भएको थाह पायौ । केही बर्ष उपचारको प्रयास गर्यौ तर सफल भएनौ उहाँले २०६६ सालमा ३८ बर्षको अल्पायुमै हामीलाई छोडेर जानु भयो । म त्यतिखेर ३२ बर्षको मात्र थिए’ ,उनले भनिन ‘श्रीमान वितेपनि छोराछोरीको मुख हेरर बसे । दुःखजिलो गरेर छोराछोरी हुर्काए तर केही बर्षमै अर्को बज्रपात सुन्नु परयो । छोराको दुवै मृगौला फेल भएको । श्रीमान विरामी हुँदा तीन बर्ष अस्पतालमै विताए । छोरा विरामी भयो । दुई बर्ष उपचारमै वित्यो । मेरो भाग्य नै दुःख पाउन लेखेको रहेछ । म के गरुँ । काँहा जाँउ । कसरी छोराको किड्नी फेरु ?’
श्रीमानको पेन्सन साढे ६ हजार रुपैया आउँछ । त्यसले कोठा भाडा तिर्न नै पुग्दैन । घरमा सम्पति केही छैन । कहिले काँही ज्याला मजदुरी गरेर गुजरा चलाएकी छु । दिदिबहिनीले लत्ताकपडा सहयोग गर्नु हुन्छ । म के गरुँ ? आफैलाई सम्हाल्न सकिरहेकी छैन उनले भक्कानिदै भनिन ‘हे भगवान सहने शक्ति देउ । कति पिडा मात्रै दिन्छौ ।’
छोरा बचाउन उनले सहयोगको याचना गरेकी छन् । उनको सम्पर्क नम्बर ९७४८५०६५१० रहेको छ । सहयोग गर्न चाहने माहानुभावहरुले नम्रता चन्दको नाममा रहेको राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर ४१६००२५९९७१० मा आवश्यक सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।