सुर्खेत, १० असार ।
भेरीगंगा नगरपालिकाको पाँचौ नगर सभा मंगलबार सुरुभएको छ । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुखले नगरपालिकाको वृहत्तर विकासका लागि आगामी आ.व. २०७६/०७७ को योजना प्रस्तुत गर्नुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चन्दले नागरिकता सिफारिसलाई निशुल्क गर्ने जानकारी दिनुभयो । उहाँले नगरका हरेक नागरिकलाई नागरिकता प्राप्त गर्नका लागि सहज होस भन्ने हेतुले निशुल्क गरिएको बताउनुभयो ।
नगरपालिकामा रहेका माध्यामिक तहमा कार्यालयमार्फत सेनेटरी प्याड निशुल्क रुपमा वितरण गर्ने बताउनुभयो । उहाँले बालिकाहरुलाई विद्यालयमा महिनावारीको समयमा समेत अध्ययन अध्यापन कार्यमा सजिलो होस भन्नाले यसो गरिएको बताउनभयो ।
यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउनका लागि माध्यमिक तहहरुमा नर्सिङ्ग स्टाफको व्यवस्था गर्ने जानकारी दिनुभयो । बालबालिकाहरुको माध्यमबाट स्वास्थ्य सेवाको सुधारका लागि यस्ता नीति लिईएको जानकारी दिनुभयो ।
यसैगरी छिन्चुमा प्राथमिक आँखा उपचार केन्द्र संचालनमा ल्याउने जानकारी दिनुभयो । उहाँले भेरीगंगा क्षेत्रका नागरिकको आँखा उपचार कार्यलाई सरल बनाउन यस्तो नीति लिईएको बताउनुभयो । नगरपालिकाको विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि आवश्यक कार्ययोजना सहित अघि बढ्ने बताउनुभयो ।
नगर उप प्रमुख रेणु आचार्यले समजमा रहेका महिला, बालबालिक, लक्षित समूहको लागि आयआर्जनमुलक कार्यक्रम संचालन गरिने बताउनुभयो । उहाँले छोरी लक्ष्मी बचत कार्यक्रम, सहकारीहरुको क्षमता विकास, कृषकहरुलाई अनुदानमा उत्पादनमुलक सामाग्री वितरणलगायतका कार्यक्रम अघि बढाईने बताउनुभयो । नगरमा रहेका हरेक बर्गको न्यायिक निरुपणका लागि नगरपालिकाले आगामी आवबाट प्रभावकारी कार्यक्रम संचालन गरिने बताउनुभयो ।
नगरपालिकाले आम नागरिकको सेवा प्रभावलाई प्रभावकारी रुपमा नीति प्रस्तुत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले आम मानिस, सहकारी तथा संस्थाहरुसँगको सहकार्यमा उत्पादनमुलक कार्यक्रम आगामी आ.व.मा संचालन गर्ने जानकारी दिनुभयो । पत्रकार महासंघ सँगको सहकार्यमा पत्रकार अक्षयकोषका लागि सहयोग गर्ने जानकारी दिनुभयो । नगरपालिकाले डिजिटल नागरिक बडापत्रलाई हरेक वडामा विस्तार गर्ने पनि उहाँको भनाई थियो ।
नगरपालिकाले स्वच्छ, सुन्दर र वातावरणमैत्री भेरीगंगा नगर ः कृषि, पर्यटन र पूर्वाधारयुक्त शहर हाम्रो रहर भन्ने नारालाई सार्थकता दिनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो । कृषि, पशु, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाईने जानकारी दिनुभयो । जातिय छुवाछुत मुक्त कार्यक्रम, बालिकाहरुका लागि छोरी लक्ष्मी बचत कार्यक्रम, बसपार्क स्थापना तथा संचालन, बाटिका तथा पार्कहरु निर्माणलगायतका कुरामा जोड दिइने बताउनुभयो । नगरपालिकास्तरिय दलित संग्रहालय, दलित तथा राजी जातीको संरक्षणलगायतका कार्यक्रम पनि संचालन गरिने बताउनुभयो ।
नगरपालिकाका लेखाअधिकृत मान बहादुर ठाडाले आगामी आ.व. २०७६।७७का लागी संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आयसमेत गरी ५७ करोड, २० लाख ८५ हजार बराबरको बजेट प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले आगामी आवको श्रावणदेखि लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्नका लागि बजेट तर्जुमा तथा लेखांकन सफ्टवेयर स्थानीय संचीत कोष व्यवस्थापन प्रणाली कार्यान्वयन, नगरपालिकाका लागि बजेट खर्च र प्रतिवेदनको कम्प्युटरकृत लेखांकन सफ्टवेयर तयारी भएको समेत जानकारी दिनुभयो ।