कुशेमा गरिबसंग–गाउँ सरकार

बद्री पन्त
जाजरकोट १२, असार ।
जाजरकोटको कुशे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३९ करोड ५० लाख १३ हजार बजेट खर्च गर्ने प्रस्ताव गरिएको छ । मंगलबार गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पु भार्मामा छैटौं गाउँसभा तथा तेस्रो बजेट सभाबाट बजेट गाउँसभामा प्रस्तुत गरिएको हो ।
पुर्बाधार विकासलाई उच्च प्राथमिकता दिदै आएको कुशे गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा आर्थिक तथा सामाजिक बिकासलाई उच्च प्राथमिकतामा राखेको छ ।
जिल्ला देखि गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पु भार्मा र थर्पु भार्मा देखि ९ वटै वडा कार्यालयसम्मको सडक संञ्जाल विस्तार गर्न सफल भएको गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा आर्थिक बिकासलाई जोड दिन “गरिबसंग–गाउँ सरकार” कार्यक्रम सञ्चालन गर्ने बिषयलाई समावेस गरेको छ ।


गाउँपालिकाको पहिलो बजेट सभा बाटुल्यामा पालमुनी बसेर सम्पन्न गरेको बताउदै अध्यक्ष हरीचन्द्र बस्नेतले दोस्रो बजेट सभा भौतिक संरचनाको अभावमा थर्पु भार्माकै अध्यारो कोठामा बसेर सम्पन्न गरेको स्मरण गराउनु भएको थियो ।
गाउँपालिकाको तेस्रो बजेट सभा गाउँपालिका आफैले निर्माण गरेको भौतिक संरचना तथा सभाहलमा गर्न पाउदा खुसी भएको बस्नेतले बताउनु भयो ।
आवश्यकताका आधारमा गाउँपालिकाले दुई बर्षसम्म सडक, भवन जस्ता भौतिकपूर्वाधार बिकास निर्माणमा जोड दिएको भएतापनि अब देखि आर्थिक तथा सामाजिक बिकासमा जोड दिने बस्नेतको भनाई छ ।
छैटौं गाउँसभा तथा तेस्रो बजेट सभामा गाउँपालिकाको बार्षिक नीति प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले आर्थिक बिकास तर्फको कृषि बिकासमा “एक घर एक करेसा बारी, बाह्रै महिना घर–घरमा हरियो तरकारी” को लागि बिशेष कार्यक्रम संचालन गर्ने, पशु स्वास्थ्य सेवालाई कृषकको गोठसम्म पुर्याउनका लागि टेली मेडिसन सेवा संचालन गर्ने बस्नेतले बताउनु भयो ।
सामाजिक विकास तर्फ शिक्षा क्षेत्रमा “प्रथम अध्यक्ष छात्रावृति कोष” स्थापना गरि जेहन्दार, गरिव, विपन्न विद्यार्थीहरुलाई मापदण्ड निर्माण गरि छात्रवृति वितरण गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता गरि एक जना विद्यार्थीलाई एमविबीएस पढाउने बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी बनाउने, पूर्णखोपयुक्त गाउँपालिका बनाउन, महिला तथा बालबालिकाको क्षेत्रमा “किशोरी तथा गर्भवती आमासंग उपाध्यक्ष” कार्यक्रम संचालन गर्नुको साथै गर्भवति तथा सुत्केरी व्यथाले थलिएका महिलालाई हेलिकप्टरबाट उद्धार गर्ने, “गरिबसंग गाउँ सरकार” कार्यक्रम संचालन गर्ने, “अनाथसंग गाउँपालिका अध्यक्ष” कार्यक्रम संचालन गर्ने बस्नेतको भनाइ छ ।

गाउँपालिकाले वन संरक्षणमा जोड दिनुपर्ने बताउदै अध्यक्ष बस्नेतले सल्लाको खोटो संकलन कार्यलाई निरुत्साहित गर्दै “एक गाउँ एक नमुना वन” बनाउने बताउनु भयो । “सुन्दर, शान्त र समृद्ध ठाउँ, कुशे गाउँपालिकाको सान, विकासका पुर्वाधार निर्माण गर्ने हाम्रो अभियान ।” भन्ने मुल मन्त्र लिएको गाउँपालिकाको समग्र विकास गर्न त्रीबर्षिय र पञ्चबर्षिय गुरु योजना निर्माण गरि कार्यन्वयन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
गाउँपालिकाकी उपाध्यक्ष रामछाँया शाहीद्धारा प्रस्तुत गरिएको बजेट कार्यक्रममा चालु तर्फ ८ करोड ८ लाख ११ हजार रहेको छ भने, शशर्त अनुदान तर्फ एकमुष्ट १५ करोड ८८ लाख रहेको छ ।
आर्थिक बिकास तर्फ १ करोड १० लाख, सामाजिक बिकास तर्फ ३ करोड ५९ लाख, पूर्बाधार बिकास तर्फ ३ करोड, बाताबरण तथा बिपद व्यवस्थापन तर्फ ७० लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ २ करोड ८५ लाख रहेको छ ।

प्रकाशित मितिः १३ असार २०७६, शुक्रबार ०६:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *