बाबा बयक
सुर्खेत, ३ पुस ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शनिवार रामघाटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले संयुक्त रुपमा सिलान्यास गर्नु भएको छ ।
करिब साढे २५ करोड रुपैयाँ लागतमा तीन वर्ष भित्र निर्माण सक्ने गरी स्टिल ट्रष्ट पुलको सिलान्यास गर्दै मन्त्री लेखकले मध्य तथा सुदूरपश्चिमाञ्चलका उत्तर–दक्षिण (भारत–चीन) सम्म जाने सडक सञ्जाल विस्तार गर्न सरकारले ध्यान केन्द्रित गरेको जानकारी दिनु भयो । सडक सञ्जाल जोडेर व्यापार र पर्यटन प्रर्वद्धनमार्फत् समग्र मध्य र सुदरपश्चिमको उन्नती हुने उहाँको भनाइ थियो ।
मन्त्री लेखकले संविधान क्रियाशील भएन भने देश दुर्घटनामा जाने हुँदा अब बचाउनका लागि सबै दलहरु मिल्नको विकल्प नरहेको औल्याउनु भयो । उहाँले संविधान कार्यान्वयनका लागि सरकारले अघि सारेका कदम र प्रस्ताव माथि कसैको चित्त नबुझेका कुरामा लोकतान्त्रिक पद्धती र प्रक्रिया मार्फत टुङ्गो लगाउन आग्रह गर्नु भयो । राजनीतिक द्वन्द्व बढाएर मुलुक सही ठाउँमा पुग्ने नसक्ने उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले संधिान कार्यान्वयन गर्दै तत्काल निर्वाचन गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेस नेतृत्वमै संविधान बनेकाले सबै दलहरुलाई मिलाएर संविधान कार्यान्वयन गरी निर्वाचन गराउन अपरिहार्य रहेको उल्ल्ेख गर्नु भयो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले सुर्खेतको रामघाट र दशरथपुरलाई जोड्ने भेरी नदी माथिको पक्की पुल निर्माण भएपछि यस क्षेत्रका करिब २२ गाविसका कृषिजन्य उत्पादनको विक्री वितरणसँगै ३२ लाख जनतालाई आवतजावतमा सहजता पुग्ने बताउनु भयो ।