सुर्खेत, ४ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रबाटै आएको निर्देशन अनुसार सुर्खेतमा समेत पार्टी एकीकरण भएको छ । वीरेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी दुबै पार्टीका जिल्ला अध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्ती सहित पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।
एकीकृत पार्टीको नाम राप्रपा राखिएको छ । पार्टी एकीकरण घोषणासँगै कविरापुरी राप्रपाको जिल्ला अध्यक्ष बनेका छन् भने मानबहादुर खड्का वरिष्ठ अध्यक्ष भए । पार्टीको झन्डा राप्रपा नेपाल को हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्रमा सम्पन्न गर्ने दुई दलबीच सहमति भएको अध्यक्ष पुरीले जानकारी दिए । । उनले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै एकीकरणबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विश्वास व्यक्त गरे । पार्टी एकीकरणपछि राप्रपा नेपालको चौथो ठूलो दल बनेको छ ।
समान विचारधारा बोकेका राजनीतिक दलहरुसँग सहकार्य र एकता गर्ने पार्टीको नीति अनुरुप राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच एकीकरण भएको वरिष्ठ अध्यक्ष खड्काले जानकारी दिए । मुलुकमा राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवम् प्रजातन्त्रको संवद्र्धन, प्रवद्र्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी शक्तिबीचको एकता भएको उनको भनाइ छ ।