काँक्रेविहार बैंकले ६ महिनामा झण्डै करोड कमायो

बोनस शेयर वितरण गर्ने तयारी
आकाश तारा बयक
सुर्खेत, २२ माघ ।
सुर्खेतको वीरेन्द्रनगरमा मुख्य कार्यालय रहेको काँक्रेविहार विकास बैंकले पछिल्लो ६ महिनामा झण्डै करोड रुपैयाँ मुनाफा कमाएको छ । स्थानीय बासिन्दाको बैंकप्रति बढ्दो अपनत्वका कारण चालु आर्थिक वर्षको पुस मसान्तसम्म ८३ लाख ६१ हजार रुपैयाँ मनाफा कमाउन सफल भएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३३ लाख ५९ हजार रुपैयाँ मात्र मुनाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को सोही अवधिमा कमाएको एक सय ४८ दशमलव ९१ प्रतिशतले बढी हो । बैंकले गत आवमा कुल एक करोड ९ लाख ९५ हजार रुपैयाँ कमाएको बैंकमा थियो । हाल बैंकसँग ७ करोड २४ लाख रुपैयाँ पूँजी सुरक्षित रहेको छ । बैंकले यस वर्ष ऋण लगानीको क्षेत्र समेत विस्तार गरेको बताएको छ । बैंकका प्रबन्धक जगतबहादुर थापाले गत वर्षको कुल लगानीको अनुपातमा चालु आवको पुस मसान्तसम्म ८ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी लगानी गरिएको बताए । उनले चालु आवको पुस मसान्तसम्म ५७ करोड ५ लाख ९३ हजार लगानी भईसकेको जनाए । उनका अनुसार बैंकले अघिल्लो आवमा कुल ४८ करोड २७ लाख ४२ हजार ऋण लगानी गरेको थियो । यो गत आवको कुल लगानीको तुलनामा १८ दशमलव १९ प्रतिशतले बढी हो ।
त्यस्तै बैंकले चालु आवको पछिल्लो ६ महिनामा ८२ करोड ८६ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवमा बैंकले ७९ करोड ८१ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । यो गत आवको कुल निक्षेपको ३ दशमलव ९५ प्रतिशतले बृद्धि हो । बैंकले उद्योग कर्जा, हायर परचेज, कृषि कर्जा, पर्यटन, वैदेशिक रोजगार, सेवाक्षेत्र, पर्सनल कर्जा, शैक्षिक कर्जा, विपन्न वर्ग कर्जा, पर्सनल ओडी र मुद्दती रसिद कर्जा प्रवाह गर्दै आएको छ । बैंकले निक्षेपकर्ताका लागि गृहणी बचत, बाल बचत, पेवा बचत, विद्यार्थी बचत, जेष्ठ नागरिक बचत, संस्थागत कर्मचारी बचत खाता र अक्षय कोष खाता लगायत फरक–फरक शीर्षकमा खाता खोल्ने व्यवस्था गरेको छ । बैंकका हाल जिल्लामा तीन वटा शाखा रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कर्णबहादुर सिंजालीले अहिलेसम्मको वित्तिय अवस्थालाई हेर्ने हो भने बैंकले सन्तोषजनक कारोवार गरिरहेको बताए । उनले नेपाल राष्ट्र बैंकद्वारा मर्जरका लागि तोकेको समय सीमा २०७४ असार मसान्तसम्म कुमारी बैंकसँग मिलेर एकीकृत कारोवार शुरु गरिने जनाए । उनका अनुसार मर्जरका लागि अहिलेदेखि नै आवश्यक गृहकार्य चलिरहेको छ । बैंकले वितरण योग्य मूनाफाबाट शेयर धनिलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर वितरण गर्ने तयारी गरेको प्रमुख कार्यकारी सिंजालीले जानकारी दिए । उक्त बोनस शेयर वितरणका लागि राष्ट्र बैंकले सहमति दिईसकेकाले आउँदो महिना भित्रै वितरण गरिने उनले बताए । उनका अनुसार यो बोनस शेयर गत आर्थिक वर्ष २०७२÷०७३ को कारोवार उपलब्धीबाट वितरण गर्न लागिएको हो ।

प्रकाशित मितिः २२ माघ २०७३, शनिबार ११:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *