सचिवको आन्दोलनले सुर्खेतका सेवाग्राही मर्कामा

बाबा बयक
सुर्खेत, २३ माघ ।
गाविस सचिवहरु आन्दोलनमा होमिएपछि सुर्खेतका ४० वटै गाविसको काम प्रभावित भएको छ । सचिवहरुको आन्दोलनका कारण जिल्लाका दुर्गम गाविसका सर्वसाधारणको कामबढी प्रभावित भएको हो । सचिवहरुले गाविसको कागजात सहित छाप समेत जिल्ला विकास समितिमा बुझाएर काम अबरुद्ध गर्दा विकासका निर्माण र गाविसबाट गरिने विभिन्न सिफारीसका कामहरु समेत बन्द भएका छन् । आन्दोलनका कारण सिफारीस हुन नसक्दा चार दिनदेखि जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा बेखर्ची भएर बस्नु परेको लेखगाउँ गाविसका सेवाग्राही चेतना पुनमगरले बताउनु भयो । उहाँले विवाह दर्ताका गराएर आफू भारत जान लागेको थिए, तर गाविस सचिवले आन्दोलन छ भन्दै सिफारीस नगरिदिएको दुःखेसो पोंख्नु भयो ।
नागरीकता बनाउन आएका पश्चिम सुर्खेतको घाटगाउँ निवासी दीपक विसीले तीन दिनदेखि सचिवको आन्दोलन हुँदा कहिले काम हुने हो भन्ने अन्यौलमा परेको बताउनु भयो । यता आफ्ना मागहरु पुरा नभएसम्म गाविसका कुनैपनि कामकाज नगर्ने गाविस हकहित संरक्षण केन्द्र नेपालका केन्द्रीय सदस्य तिलकराम अधिकारीले बताउनु भयो । त्यस्तै गाविस हकहित संरक्षण केन्द्र नेपाल सुर्खेतका सचिव श्यामलाल खरालले मागहरु पुरा नभए थप आन्दोलनका कार्यक्रम कडा पारिने चेतावनी दिनु भयो ।
कतिपय गाविसका सर्वसाधरण गाविस सचिव खोज्दै सदरमुकाम आइपुगेपनि काम नगर्ने खबरले दुखीत भएका छन् । जिल्लाका गाविस सचिवहरु सबै आन्दोलन भन्दै जिल्ला सदरमुकाममामा जम्मा भएर पाँच दिनदेखी जिल्ला विकास समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *