व्यक्तिगत खर्चमा निशुल्क स्वास्थ्य शिविर

बद्री पन्त
जाजरकोट, १२ फाल्गुन ।
व्यक्तिगत खर्चमा जाजरकोटको दुर्गम गाउँ कैनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । दुर्गम गाउँका बासिन्दालाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिन यही फाल्गुन १७ र १८ गते नलगाड नगरपालिका –३,  कैनामा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
विंग्स फाउण्डेसन र नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतले आयोजना गर्ने शिविरमा दाँत, महिलाको पाठेघरको क्यान्सरको स्क्रीनिंग र बालबालिकाहरुको स्वास्थ्य र कुपोषणको जाचँ गरिने छ ।
प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलि क्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गर्ने शिविरको लागि पहल गरेका बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले बताए ।
उनले नलगाड ३ मा रहेका कैना, चामलेचौर, कट्के, करुवासहित पाँचवटा विद्यालयलाई दूषित पानीलाई शुद्धिकरण गर्ने उपकरण पनि प्रदान गरिने जानकारी दिए ।
प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले नेतृत्व गर्ने शिविरमा महिला रोग विशेषज्ञ डाक्टर सेरल्लीसहित करिव १२ जना भन्दा बढी स्वास्थ्यकर्मीको टोली जानेछ ।
यस्तै नेपाल अर्वुद रोग निवारण संस्था, विंग्स फाउण्डेसन, क्लिन ड्रिक एड्भेन्चर र माउण्टेन टेलिभिजनका कर्णाली प्रदेश व्यूरो प्रमुख विवसकुमार सेजुवालसहित पत्रिका, रेडियो र टेलिभिजन लगायत राष्ट्रिय संचार माध्यममा कार्यरत संचारकर्मी पनि शिविरमा सहभागी हुनेछन् ।
दुई दिनसम्म चल्ने शिविरमा करिव तीन लाख रुपैया खर्च लाग्ने आयोजनले बताएका छन् । व्यक्तिगत खर्चमा हुने शिविरको खर्च मध्ये विंंग्श फाउण्डेसनका अध्यक्ष डाक्टर नवराज केसीले एकलाख ५० हजार, पर्यटन विद् विशु सिंजाली एक लाख, अमेरिकामा रहेका युवा समाजसेवी प्रेम रोकायले २० हजार र वाँकी खर्च अमेरिकामा रहेकी युवा समाजेसवी जयन्ति थापा, समाजसेवी बिन्दु नेपाल, पत्रकार प्रकाश पन्त, अर्वुद रोग निवारण संस्था लगायतले रुपमा व्यहोर्ने छन् ।

औषधी किन्न, महिलाको पाठेघरको क्यान्सर परिक्षण गर्नको लागि किट किन्न, यातायात खर्चमा पैसा खर्च हुनेछ । शिविरमा नलगाड नगरपालिकाका प्रमुख, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवीहरुसँग स्वास्थ्य र सररफाई सम्वन्धी छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।
शिविरमा खाना र वस्नको व्यवस्था भने टट्टाका समुदायले गर्नेछन् । स्वास्थ्य केन्द्र कैनामा हुने शिविरको समन्वय नागरिक कृषि तथा पशुपालन सहकारी संस्था, नलगाड –४ लहँ र पिशान्त एग्रो फार्म, नलगाड – ३ कट्केले गरेका छन् ।
नलगाड नगरपालिका ३ कैनामा पहिलो पटक हुन लागेको निशुल्क स्वास्थ्य शिविरवाट टट्टा, करुवा, कट्के, पिउली, भारगाउँ, गर्छिना, थाप्ला, कोटीगाउँ, लहँ, बाउँसेखोला, खनटाकुरा, पोखरा, ऐरारी, रघुनाथ, डाँडाँगाउँ, सहित नलगाड नगरपालिकाका सवै बासिन्दाले लाभ लिने छन् ।
निशुल्क स्वास्थ्य शिविर जस्तो पवित्र काम गर्न लागेकोमा स्थानीय समुदायले शिविर आयोजनालाई हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
शिविरको व्यवस्थापन स्थानीय समाजसेवी चन्द्रबहादुर बुढा, गोरखबहादुर पुन, मनबहादुर विष्ट, औसी घर्ती, मिश्रीलाल पुन, गगन राना, शेरबहादुर ओली, कृष्ण थापा, बीरेन्द्र खड्का, मोतिलाल बुढा, भक्तबहादुर रावल, लवकुश ओली, मुक्ती गौतमलगायतले गरेका छन् ।
निुशल्क स्वास्थ्य शिविरमा आएर आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ लिन हुन पनि शिविर आयोजनले नलगाडबासीलाई आग्रह गरेका छन् ।
जाजरकोटको कैनापछि मेरो देशको परिवर्तन मेरै सहयोग बाट भन्ने सोचका साथ विंग्स फाउण्डेसनको अगुवाइमा दैलेख, सुर्खेत, कालिकोट र हुम्ला लगायतका जिल्लामा पनि निःशुल्क स्वास्थ्य शिविर गर्ने कार्यक्रम रहेको छ ।
यी शिविरमा पनि दाँत सम्बन्धी, पाठेघरको क्यान्सरको स्क्रीनिंग र बालबालिकाहरुको स्वास्थ्य र दूषित पानीलाई शुद्धिकरण गर्ने उपकरणहरु बाँडिने छ ।
यो मानविय कार्यमा हातेमालो गर्न चाहने ब्यक्ति तथा अन्य संघ संस्थाहरुलाई पनि सहकार्यको लागि फाउण्डेसनले आग्रह गरेको छ ।

प्रकाशित मितिः १२ फाल्गुन २०७५, आईतवार ०६:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *