सरसफाईमा नमुना गाँउको कथा

DSC01615 (2000x1500)
खानेपानी धारामा स्थानिय महिला ।

बद्री पन्त
जाजरकोट ५, असार ।
केही महिना अघि सम्म जाजरकोट पैक ६ कफल्नाकी ५९ बषिया सीता रोकायलाई खानेपानीको निकै पिरलो हुन्थ्यो । घरनजिक खानेपानी नहुँदा निकै टाढा गएर नाउलाको पानी ल्याउनु पथ्र्यो । विहान बेलुकाको समय खानेपानी ओसार्नमै वित्थ्यो तर अहिले अवस्था फेरिएको छ ।
सीताले पहिले जस्तो अचेल खानेपानीको लागि पिरलो गर्नु पदैन । रेडक्रसले खानेपानीका धारा बनाईदिएपछि अहिले उनको गाँउका सवै घरमा चौविसै घण्टा पानी आउने गरेको छ । सवैको घरघरमा खानेपानी आउन थालेपछि सीता निकै खुसी छन् । ५० बर्ष सम्म थाप्लोमै पानी बोकेर परिवारको गुजरा चलाएको स्मरण गदै उनले अव दुःखका दिन गएको बताईन । सवैको घरमा यसरी पानी आउला भन्ने सपनामा पनि सोचेको थिईन हामी महिलाको लागी खानेपानी निकै ठुलो कुरा रहेछ उनले भनिन् ।
सीता जस्तै निर्मला बस्नेत पनि आफ्नो घरमा चौविसै घण्टा पानी आउन थालेपछि दंग छन् । विहान ५ बजे नै पानी लिन टाढा जानु पथ्र्यो । पानी नहुँदा लुगा धुन , नुहाउन , चर्पीमा पानी हाल्न र अन्य सरसफाई गर्न निकै समस्या हुन्थ्यो तर अहिले अवस्था फेरिएको छ । चर्पी प्रयोग नगर्नेहरु पनि चर्पी सँगै धारा भएपछि चर्पीको प्रयोग गर्न थालेका छन् । मैला कपडामै गुजरा चलाउनेहरु कपडा धोयर सफा लगाउन थालेका छन् यो सवै रेडक्रसको सहयोगले गर्दा सम्भव भएको निर्मलाले बताईन । नाउला , खोला र खोल्साको दुषित पानी सेवनका कारण झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपले सताउँथ्यो उनले भनिन पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्ने गरेका छौ । खानेपानी आएपछि आफुहरुलाई अहिले निकै सजिलो भएको निर्मलाको भनाई छ
६२ घर घुरी रहेको जिल्लाकै विकट कफल्ना गाँउमा अहिले प्रत्येक घरमा धारा छन् । सवैको घरमा चर्पी छन् । स्वीस रेडक्रसको सहयोगमा सामुदायिक शसक्तिकरणका लागी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको सहयोगमा डाव खानेपानी तथा सरसफाई आयोजनाले खानेपानीका धारा बनाईदिएपछि सो गाँउमा खानेपानीको सहजता भएको हो । खानेपानी बनेपछि गाँउका सवैले चर्पीको प्रयोग गर्न थालेका छन् । भाँडा राख्ने चाँङ्ग र फोहर फाल्ने खाडल बनाईएका छन् । घरआँगन चिटिक्क परेका देखिन्छन् । केटाकेटी देखि बृद्धबृद्धा सम्मले चर्पीको प्रयोग गर्न थालेका छन् स्थानिय चण्डिका रोकायले भनिन् खानेपानी आएदेखि हाम्रो गाँउ सरसफाईमा साँच्चिकै नमुना गाँउ बनेको छ । गाँउको खानेपानीको समस्या समाधान गरिदिन्छौ भनेर धेरै नेता देखि सरकारी कर्मचारीले आश्वासन दिए तर हाम्रो समस्या प्रति कसैले फर्केर हेरेनन् स्थानिय दीपक रोकायले भने रेडक्रसले खानेपानी बनाईदिएपछि गाँउलेहरु निकै खुसी भएका छन् । अहिले हाम्रो गाँउमा एक घर एक धारा एक चर्पीको ब्यवस्था गरेका छौ यो गाँउलाई छिटै पुर्ण सरसफाईयुक्त गाँउ बनाउने लक्ष्य भएको उनले सुनाए ।
खानेपानीलाई ब्यवस्थित बनाउन मर्मत संभार कोषको स्थापना गरिएको छ भने प्रत्येक घरका धारामा मिटर जडान गरिएको छ प्रतिमहिना सात युनिट सम्म पानी प्रयोग गर्नेले २५ रुपैया र थप प्रतियुनिटको ५ रुपैयाका दरले शुल्क उठाउने गरिएको उपभोक्ता समितिका अध्यक्ष चण्डिका रोकायले बताईन । योजनालाई दिगोपन ल्याउन र मर्मत संभार गर्न सहयोग पुर्याउने उद्देश्यले मिटर प्रणाली लागु गरेर रकम उठाएको अध्यक्ष रोकायको भनाई छ । रेडक्रसको १६ लाख ३२ हजार , गाविसको २ लाख र श्रमदान ६ लाख गरी साढे २४ लाखमा खानेपानी आयोजना निर्माण भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । गाँउमा खानेपानीको निकै समस्या देखेपछि खानेपानी आयोजना निर्माणको लागी आवश्यक पहल गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटका सभापति एवं केन्द्रिय सदस्य सनतकुमार कार्कीले बताए । उनले यो गाँउलाई सरसफाईमा नेपालकै नमुना गाँउ बनाउने उद्घोष गरेका छन् ।
आयोजनाले पैकका साथै अर्छानी र लहँमा पनि खानेपानी योजना निर्माण गर्नुका साथै सरसफाई प्रर्वद्धन कार्यक्रम संचालन भैरहेको कार्यक्रम संयोजक रविन्द्र शाहीले बताए । उनका अनुसार अर्छानी ३ मा ३५ र लहँमा ५२ घरमा धारा निर्माण गरिएको छ । लहँ , अर्छानी र पैकमा आगामी दुई बर्ष सम्म संचालन हुने यो कार्यक्रम अन्र्तगत पुर्ण सरसफाईका लागी सरसफाई प्रर्वद्धनका कार्यक्रम संचालन गरिने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री हरिबहादुर बस्नेतले बताए । डेढ बर्ष अघि जाजरकोटलाई खुला दिसामुक्त घोषणा गरिएपछि तयार पारिएको जिल्लाको सरसफाई रणनितिक योजना लाई टेवा पुग्ने गरी रेडक्रसले जिल्लाका तीन ओटा गाविसमा काम गरिएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सचिव एवं खानेपानी तथा सरसफाई सवडिभिजन प्रमुख महेशी महतोले बताए ।

प्रकाशित मितिः ५ असार २०७३, आईतवार १२:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *