
गोविन्द देवकोटा
सुर्खेत, २८ साउन ।
सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्नको लागि विभिन्न स्थानलाई विकल्पको रुपमा अघि सारिएको छ ।
मेडिकल कलेज स्थापना कार्य प्रारम्भ समितिले सरोकारवालासगँ वीरेन्द्रनगरमा गरेको छलफल कार्यक्रमका सहभागीले मेडिकल स्थापनाको लागि विभिन्न स्थानको जग्गालाई विकल्पको रुपमा अघि सारेको हुन ।
उनीहरुले मध्यपश्चिम क्षेत्रीय अस्पतालको १५ विगाह जग्गा रहेको र क्षेत्रीय अस्पतालसँग समन्वय गरी अगाडि बढाउन सकिने सुझाव दिएका छन ।
यस्तै वीरेन्द्रनगर १ सोलीघोप्टेमा रहेको २५ विगाह जग्गामा वनाउने, करैखोलादेखि गाग्रेतालसम्मको १३ सय हेक्टर, मध्यपश्चिमाञ्चल विश्वविदयालयसँग समन्वय गर्ने, नीजि क्षेत्रको जग्गाको व्यवस्थापन गर्न सकिने र कलेजलाई नै प्रतिष्ठानको रुपमा बदल्न सकिने विकल्पको रुपमा सुझाव दिएका छन ।
छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुबीच मेडिकल कलेजका लागि उपर्युक्त जग्गाका बारेमा एकमत हुन सकेन ।
छलफलमा सहभागी दलका प्रतिनिधिहरुले आ–आफ्नो अनुकुलको सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमा अन्य सहभागीहरुले भने यसअघि पनि मेडिकल कलेज स्थापनाका लागि जग्गाको बारेमा अध्ययन र स्थान समेत छनोट भइसकेकोले सोही स्थानलाई निक्र्यौल गरी प्रस्ताव गर्नुपर्ने सुझाएका छन ।
केही दलका नेताहरुले प्रदेश स्तरको संरचना हुने भएकोले कलेजका संरचनाहरु वीरेनद्रनगर उपत्यकाभित्रै जग्गाको व्यवस्थापन गर्नुपर्ने बताएका छन ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य सरोकारवालाले भने वनको जग्गाको झन्झटिलो प्रक्रियाका कारण मेडिकल कलेज स्थापना नै अन्यौलमा पर्ने भन्दै सकेसम्म सार्वजनिक र नीजि जग्गालाई उत्तम विकल्पको रुपमा राख्नुपर्नेमा जोड दिएका छन ।
पूर्व सांसद् नरबहादुर विष्टले कलेजका लागि भौतिक संरचना आवश्यक रहेकोले तत्कालका लागि क्षेत्रीय अस्पतालको संरचनालाई प्रयोग गरि अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कांग्रेसका कोषाध्यक्ष अनन्त पौडेलले वनको जग्गा भन्दा सार्वजनिक एवम् नीजि जग्गाको व्यवस्था गर्दा कलेज स्थापनाको कार्य यथासिघ्र अगाडि बढ्ने सुझाव दिनुभयो ।
एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले मेडिकल कलेज जस्तो शैक्षिक संस्था स्थपनाका लागि सबै दलहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा. सुरेश तिवारीले मेडिकल कलेज भन्दा पनि ६ नम्वर प्रदेशस्तरीय वहुआयामिक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्दा राम्रो हुने सुझाव दिनुभयो ।
कांग्रेसका युवा नेता गोविन्द कोइराला र झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले वीरेन्द्रनगर–११ को चनौटेको पूर्वपट्टी र साविकको गाग्रेतालमा पर्ने १३ सय हेक्टर जमिन यसअघि नै मेडिकल कलेज स्थापनाका लागि छुट्याइसकेकोले जग्गाको बारेमा अनावश्यक विवाद सिर्जना गर्न नुहने बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका संयोजक कृष्ण जिसी, राप्रपा नेपालका अध्यक्ष मानवहादुर खड्का, क्रान्तिकारी माओवादीका संयोजक खडानन्द लामिछाने, क्षेत्रीय अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल लगायतले उपयुक्त जग्गाको पहिचान गरी तत्कालै काम अघि वढाउनु पर्नेमा जोड दिनु भएको छ । उनीहरुले मेडिकल कलेज स्थापनाको लागि सवैभन्दा पहिला दलहरुको साझा धारणा हुनुपर्नेमा जोड दिएका छन ।
आपसी खिचातानीका कारण सुर्खेतमा स्थापना हुने भनिएका आयल निगमको क्षेत्रीय डिपो लगायतका विकासका पूर्वाधार वाहिर जिल्ला गएको स्मरण गदै उनीहरुले दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीले उपयुक्त स्थानको छनौट गरेर छलफलको लागि ल्याउन समितिलाई सुझाव दिएका छन
गत असार २७ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षातामा बसेको मन्त्रीपरिषद्को बैठकले मेडिकल निर्माण प्रक्रिया थाल्न निर्देशनात्मक परिपत्र समेत गरेपछि जग्गाको लागि छलफल चलेको सदस्य सचिव समिति रहेकी जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी दीपा हमालले बताउनु भयो
उहाँले पुनः एकपटक छलफल गरी विज्ञहरुसहितको प्राविधिक उपसमिति गठन गरी अध्ययन गर्ने र सोही अनुसार उपयुक्त स्थान प्रस्ताव गरिने जानकारी दिनुभयो ।