टुकमाया घर्ती
जाजरकोट २१, फागुन
जाजरकोटमा पछेल्लो समय आँखाका विरामीहरुको संख्या बढ्दै गएको छ । बिहीबार देखि सन्चालन भएको निःशुल्क शिवीरमा आएका अधिकांस विरामीहरुमा मोती विन्दु रोगको समस्या देखिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको आयोजनामा भेरी त्रिबेणी मावि रिम्नामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ६ सय बढीकोे आँखा जाँच गरिएको छ । तीन दिनसम्म सन्चालन भएको शिविरमा जाजरकोट र छिमेकी जिल्ला रुकुमका बिरामीले सेवा लिएका छन ।
शिविरमा १ सय ४१ जना मोती बिन्दुका बिरामीहरुको सफल आँखा अप्रेशन तथा अन्यको सामान्य आँखा जाच गरिएको छ । गाउँमै आँखाको उपचार सेवा पाएपछि बिरामी खुशी भएका छन् । लामो समय देखि आँखा बन्द भएका र देख्न नसक्ने विरामी उपचार पछि नयाँ संसार देख्न पाउको सक्ला ६ का मनबीर वलीले बताउनु भयो ।
मोती बिन्दु रोगका कारण ३ बर्ष देखि आँखा देख्न छोडेका नायकवाडा–२ जिरिका ७५ बर्षिय दलबहादुर रोकायको आँखा अप्रेशन भएपछि आँखा देख्न सक्ने भएर घर फर्केका छन् । तीन दिनको पैदल यात्रामा अर्काको सहारामा रिम्ना पुगेका रोकाय आँखा अप्रेशन पछि आफै हिडेर घर फर्केका छन् । २ बर्ष देखि आँखा बन्द भएका लहँ–१ भारगाउँ की ४५ बर्षिय आईती वुढा र २० बर्षिया छोरी भवी वुढा दुई दिनको पैदल यात्रा गरेर शिवरिमा पुगे । आमा÷छोरी दुवैको सफल आँखा अप्रेशन भएपछि निकै खुशी भएको र नयाँ जीवन पाएको पनि आईतीले बताउनु भयो ।
माओवादी केन्द्रका नेता ढकवीर रानाले आँखा शिवीरबाट कति बिरामीहरुले नयाँ संसार पाएको बताउनु भयो । शिवीरमा धेरैले सेवा पाएको भन्दै दुर्गम गाउँघरमा पनि यस्ता शिवीरहरु आयोजना गर्नु पर्ने रानाको भनाई छ ।
उक्त शिविरमा बाईमेट्री लेन्स पावर जाँच मेसिनको प्रयोग गरेर बिरामी अप्रेशन गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजका नेत्ररोग विशेषज्ञ डा.विक्रम थापा र सुर्खेत आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.नम्रता गुप्ताले विशेषज्ञ सेवा प्रदान गरेका थिए । बुढेसकालमा देखा पर्ने मोति विन्दुका विरामी पहिलेको तुलनामा अहिले सानै उमेरमा देखा पर्न थालेको डा. गुप्ताले बताउनु भयो । सामान्य असावधानी, जनचेतना र सरसफाईको कमी, मध्यपान तथा धुम्रपानको सेवन, बुढ्यौली, घामका कारण रोग लाग्ने र रोग लाग्ने वित्तिकै स्वास्थ्य संस्था नआउनु आदि कारणले आँखारोगी दिनप्रतिदिन बढिरहेका छन् गुप्ताको भनाइ छ ।
यसैवीच आँखाका विरामीलाई जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्मा, स्थानिय विकास अधिकारी रुद्रप्रसाद पण्डित, नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा लगायत ब्यक्तित्वहरु शिविरमा पुगेर विरामीलाई फलफुल वितरण गरेका थिए । २०३२ सालमा रेडक्रस शाखा स्थापना भएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटले २०३७ साल देखि जिल्लामा आँखा शिविर सञ्चालन गर्दै आएको छ । २०४८ सालमा जिल्लामा आँखा उपचार केन्द्र स्थापना भएपछि शाखाले प्रत्यक बर्ष आँखा शिविर सञ्चालन गर्दै आएको छ । शाखाले हालसम्म १५ हजार बढी बिरामीहरुको आँखा अप्रेशन गरि सकेको रेडक्रस जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले बताउनु भयो ।