
सुर्खेत, ९ असार ।
जाजरकोटको विकट गाउँ भगवतीको तल्लोवगरमा भोली ‐शनिवार) निशुल्क स्वास्थ्य शिविर हुदैछ ।
नलगाड सेवा समाज जाजरकोटको समुन्वयमा पुनम फाउण्डेसन सुर्खेतले तल्लोवगरमा निशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो । शिविरमा विशेषगरी महिलाको पाठेघर खस्ने समस्या, वालरोग लगायत अन्य समान्य उपचार गरिनेछ ।
जाजरकोटको खगेनकोट, रग्दा र भगवती, रुकुमको आठवीसकोट, गोतामकोट, डोल्पा प्यारी लगाएतका बासिन्दालाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको फाउण्डेसनका अधयक्ष पुनम विसीले जानकारी दिनुभयो ।
गाउँ घरमै जनतालाई स्वास्थ्य सेवा दिने पवित्र उदेश्यले जाजरकोटको दुर्गम गाउँमा पहिलो पटक शिविर आयोजना गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
सुर्खेतमा क्रियाशिल जाजरकोटका पत्रकार प्रकाश पन्तको विशेष पहलमा पहिलो पटक दुर्गम स्थानका जनतालाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर गर्न लागेको पनि अध्यक्ष विसीले बताउनु भयो ।
पत्रकार पन्तकै पहिला २०७३ साल साल मंसिर ११ गते खगेनकोटको दल्लीमा पनि निशुल्क स्वास्थ्य शिविर भएको थियो । शिविरमा करिव १ हजार ५ सय भन्दा बढी सर्वसाधारणले सेवा लिएका थिए । जाजरकोटको दुर्गम ठाउँका जनताले सजिलै स्वास्थ्यको पहुँच पाउन नसक्ने भएकोले घरदैलोमै सेवा दिने उदेश्यले निशुल्क स्वास्थ्य शिविरको लागि पहल गरेको पत्रकार पन्तले बताउनु भयो ।
त्रिवेणी नलगाड नगरपालिका वडा न १२ मा पर्ने तल्लोवगरमा निशुल्क स्वास्थ्य शिविर हुने भएपनि यस क्षेत्रका सर्वसाधारण निकै खुशी भएको स्थानीय समाजसेवी रामबहादुर मल्लले उल्लेख गर्नुभयो ।
जाजरकोट सदमुकाम खलंगावाट करिव ३ दिनको पैदल दुरीमा रहेको तल्लो वगरमा पहिलो पटक स्वास्थ्य शिविर हुने भएपछि आफुहरु निकै उत्साहित भएको स्थानीय शान्तबहादुर वस्नेतले बताउनु भयो ।
शिविर संचालनको लागि सुर्खेतका नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल वाल पोली क्लिनिक, नविन ड्रग हाउस, भवानी छापाखाना लगायतले औषधी लगायत अन्य सामाग्री सहयोग गरेका छन ।
शिविरमा मध्यपश्चिम क्षेत्री अस्पताल सुर्खेतमा कार्यरत डा. जानुका गैरेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उपचार गर्ने छ । शिविरमा करिव १ हजार ५ सय भन्दा बढी सर्वसाधारणलाई सेवा दिने उदेश्य रहेको बताएको छ । स्थापना भएको छोटो समयमै पुन फाउण्डेसनले महत्वपूर्ण सामाजिक काम गदै आएको छ ।