शल्यक्रिया शिविरमा महिलाको मृत्यु

मुगु : कर्णाली प्रदेश सामाजिक मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आयोजना गरेको पाठेघर खसेका महिलाका लागि आयोजित शल्यक्रिया शिविरमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ।

जेठ ९ गते देखि १५ सम्म संचालित शल्यक्रिया शिविरमा उपचार गर्दै गर्दा सोरु गाउँपालिका५ कि ४५ वर्षीया कन्न कला बिष्टको मृत्यु भएको हो।

जिल्ला अस्पतालमा संचालन भएको उक्त शिविरमा डाक्टर भोला श्रेष्ट नेतृत्वको टोलीले शुक्रबार उनको शल्यक्रिया गरेको थियो। शल्यक्रिया गरिसकेपछि बिष्ट बर्बराउने, कराउने, बान्ता गर्ने गर्दागर्दा टाँका फुत्किएकाले धेरै नै रक्तश्राव भएको थियो। उनलाई आवश्यक ओ पोजेटिभ रगत पनि निकै ढिलोमात्र पाइएको थियो किनभने जिल्लामा ब्लड बैङ्क छैन।

जिल्ला अस्पतालकै ल्याबमा कार्यरत सरस्वती शाहीले एक प्वाइन्ट रगत दिएर पुनः दोस्रो पटक बिष्टको शल्यक्रिया भएको थियो। बान्ता गर्दा पेटमा जमेको रगत फोक्सोमा पुगेर मृत्यु भएको हुनसक्ने जिल्ला अस्पतालका डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।

शुक्रबार उक्त शिविरा तीनजना महिलाको शल्यक्रिया भएको थियो। राति १० बजे जिल्ला अस्पतालबाट खबर आउने बित्तिकै आफू रगत दिने दुई युवासहित जिल्ला अस्पताल पुगेको मृतकका भाइले बताए। ‘अहिले रगत आवश्यक छैन, तेस्रो पटक शल्यक्रिया गर्नुपरे ज्यानको खतरा हुनसक्छ’, डाक्टरहरूलाई उद्धृत गर्दै मृतक बिष्टका भाइ गणेश बुढाले भने।

तेस्रोपटक शल्यक्रिया भने गरिएन। उपचारमा संलग्न डाक्टरहरूले मृतक बिष्ट मानसिक बिरामी भएको जानकारी आफन्तले शल्यक्रियापछिमात्र दिएको बताएका छन्।

शल्यक्रिया गरिसकेपछि बर्बराउने, कराउने गर्दा पहिलो पटक गरेको शल्यक्रियाको टाँका फुत्किएकोले दोस्रो पटक शल्यक्रिया गर्नु परेको अस्पतालले बताए पनि आफनी दिदी मानसिक रोगी नभएको भाइ गणेशले बताए।

शल्यक्रियाका क्रममा जिल्ला सदरमुकामम गमगढी र जिल्ला अस्पतालमा शुक्रबार साँझ ७ बजेबाट शनिबार १० बजेसम्म विद्युत अवरुद्ध भएको उनले बताए।

मृतक बिष्ट सोरु गाँउपालिका ५ कि स्वास्थ्य स्वयम् सेविका समेत रहेको उनका भाइले बताए। मृतकको शनिबार दाहसंस्कार गरिएको छ। अन्नपूर्ण पोष्टबाट

थप समाचार

अन्नपूर्ण पोष्टबाट

प्रकाशित मितिः १२ जेष्ठ २०७६, आईतवार ०७:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *