हुम्लामा नेपालको सिमाना मिच्दै चीन

हुम्ला २९, असार ।

चीनले लिमी गाविसस्थित 9ललुङमा सीमा मिचेर एकतर्फी भौतिक संरचना निर्माण गरेको छ । अघिल्लो वर्ष बनाएको घर नजिकै थप संरचना थालेको स्थानीयवासीले बताएका छन् ।

लिमी ३ हल्जीका पाल्ज्योर तामाङले हराएको ११ नम्बर सीमा स्तम्भभन्दा चार किलोमिटर वारिको नेपाली भूमि ललुङमा घर बनाएको बताए । ‘अघिल्लो वर्ष त्यो ठाउँमा एउटा भवन थियो,’ उनले भने, ‘अहिले थप भौतिक निर्माण थालेको छ ।’
लिमीका बासिन्दा तिब्बतको पुराङ काउन्टीस्थित ताक्लाकोट बजारबाट खरिद गरेका सामान लाप्चा नाकाबाट गाउँ भित्र्याउँछन् । लामो समयदेखि यही नाका प्रयोग गरी हिउँदमा पशुचौपाया चरणका लागि चीनको भूमि उपयोग गर्दै आएका छन् । सीमा आउजाउ गर्दा उनीहरूले नयाँ संरचना बनाइरहेको देखेका हुन् ।

तामाङसँगै सदरमुकाम सिमकोट पुगेका अन्य स्थानीयवासीले पनि सीमा मिचेर चीनले भौतिक संरचना निर्माण गरिरहेको बताए । सीमा मिचेर भवन निर्माण भएको खबर आएपछि आफूले गत वर्ष नै स्थलगत निरीक्षण गरेको प्रजिअ डा. कृष्णबहादुर घिमिरेले बताए । ‘चीनले नेपाली भूमिमा घर बनाएको दाबी स्थानीयवासीको छ,’ उनले भने, ‘घर बनेको ठाउँभन्दा पाँच किलोमिटर पर चिनियाँ प्रहरी बसेको छ । भवनभन्दा अलि पर खोला छ । त्यही स्थानमा पाल टाँगिएको छ ।’

पाल नजिक पुग्ने व्यक्तिको प्रहरीले सीसीटीभीबाट निगरानी गरेको उनले बताए । प्रजिअ घिमिरेका अनुसार सीमा मिचेर भौतिक संरचना बनाउन थालेको भनिएको स्थान नजिक रहेको ११ नम्बरको सीमा स्तम्भ हराएको छ । ‘स्तम्भ रहेको स्थानको अवस्था हेर्दा घर बनाउँदा मिचिएको देखिन्छ,’ उनले भने, ‘चिनियाँ प्रहरीले गर्ने निगरानी हेर्दा खोला नै सीमा भएको अनुमान छ ।’

उनले चिनियाँ पक्षसँग कुरा गर्दा गुगल सर्चबाट भवन बनेको स्थान आफ्नै भूमिमा पर्छ भनेर जवाफ दिएको उनको भनाइ छ । अहिले निर्माण गर्न थालेको भन्दा पहिले नै चिनियाँ पक्षले त्यही ठाउँमा एकतर्फी रूपमा भवन बनाएको थियो । अघिल्लो वर्ष स्थानीयवासीले नयाँ घर बनेको देखेका थिए ।

गत वर्ष तिब्बती समकक्षीसँग कुरा उठाउँदा दुवै पक्षबाट संंयुक्त टोली बनाएर स्तम्भको खोजी गर्न र सीमा पत्ता लगाउने सहमति भएको प्रजिअ घिमिरेले बताए । तिब्बती अधिकारीकै चाहनामा यो पटक पनि जुलाई १३ मा तिब्बत पुराङकाउन्टीको ताक्लाकोटमा दुई पक्षबीच वार्ता हँुदै छ । असार दोस्रो साता पनि ताक्लाकोटमा दुई समकक्षीबीच वार्ता भएको थियो ।

यो पटक ल्हासाबाटै परराष्ट्रसँग सम्बन्धित अधिकारीसमेत आउने उनले बताए । गत वर्ष चिनियाँ अधिकारीले नेपाली सीमाभित्र परेमा घर भत्काउने बताएका थिए । तर, स्थानीयवासीबाट थप संरचना बनाउन थालेको जानकारी आएकाले वार्तामा कुरा उठाउने पनि प्रजिअ घिमिरेले जानकारी दिए ।

कान्तिपुरवाट सभार

प्रकाशित मितिः २९ असार २०७३, बुधबार ०६:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *