मेरो हैसियत मन्त्रीभन्दा कम छैन

तीजलाई कमर्सियलाइज गर्न हुने वा नहुने बहस एकातिर छँदैछ । तर, कर्मसियलाइज गर्ने भन्दैमा छाडा हुनैपर्ने, अपाच्य शब्द र हाउभाउ प्रयोग गर्नैपर्ने किन ? आधुनिक हुनु भनेको अश्लीलता पचाउनुमात्र हो र ?
होइन, त्यो हुनु हुँदैन । म त्यसको विरोधी नै हुँ । मेरो परिप्रेक्ष्यमा मेरा गीत त्यस्ता कतै छैनन् । यदि कसैले भन्छ भने रिसले भनेको हुन सक्छ । मेरो लय, शब्द, विषयवस्तु तीजमा मात्रै केन्द्रित छ । मेरो प्रस्तुतीकरण, वेषभूषा, गायकी, भिडियो, अडियो र अन्तर्वार्ता हरेक कुरामा म एकदमै संवेदनशील छु । मेरा पुराना गीत त्यस्तै छन् । कसैले व्यक्तिगत लगानी गरेर जस्ता पनि गीत गाउन पाउने स्वतन्त्रता छ । त्यसलाई हामीले बन्देज गर्न सक्दैनौं । बन्देज गर्ने कुनै निकाय हुनुपर्छ । संस्कृति मन्त्रालय छ, अरु पनि निकाय छन् । तिनले गर्नुपर्छ यो काम । अर्को कुरा– राम्रो/नराम्रो भनेर छुट्याउने काम स्रोता, दर्शक र मिडियाको हो ।
तीजका गीतमा विकृति ल्याउनेमा तपाईंलाई अग्रणी मानिँदोरहेछ, किन ?
कसले अग्रणी मान्छ ? अग्रणी मान्ने को हो ? आरोप लगाएरमात्र हुँदैन । के कारण हो, त्यसको पुष्टि गर्नुपर्‍यो । तीजमा अग्रगमनकारी गीत कसैको छ भने त्यो मेरोमात्रै हो । ‘पोइल जान पाम्’ गीतलाई लिएको हो भने अग्रगमनकारी, प्रगतिशील गीत हो । नारी सशक्तीकरणको आवाज हो । हाम्रा छोरी अझै पनि भेडा–बाख्राजस्तो बेचिन बाध्य छन् । आफूले मन पराएको केटासँग विवाह गर्न पाउँदिन उसले । विवाह गर्छु भन्न सक्दिन । यो चाडपर्वको गीत हो । शिवजीको अगाडि म एउटी गायिका प्रतीकात्मक रूपमा छु । संयोगवश मैले विवाह गरेकी छैन । ‘लास्टै चोटि हो’ भन्ने गीतमा मेरो शब्द, लय, संगीत, गायकी, वेषभूषा हेर्नुस् । यसमा कसैले त्यस्तो भन्छ भने म मान्न तयार छैन । गीत मन पर्नु/नपर्नु व्यक्तिगत कुरा हो । कसैले मेरो गीतबाट विकृति भित्रिएको छ भन्छ भने त्यो मप्रतिको शतप्रतिशत रिस हो । मेरो लोकप्रियता र सत्कर्मको ईष्र्या गरेको हो ।
तपाईंले तीजमा पोइका पोइ लगाएर गीत गाउँदा के पाएँ जस्तो लाग्छ ? यसले नारी सशक्तीकरणमा कहाँनेर कस्तो योगदान दियो त नि ?
सबै सशक्तीकरणको ठेक्का मैलेमात्र लिएकी छैन । त्यसका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय छ । अहिले नेपालमा महिलाको संख्याभन्दा धेरै महिलाको नाममा काम गर्ने एनजीओ तथा आईएनजीओ खनिएका छन् । त्यसलाई बहसको विषय बनाएर पैसा कमाउनेको संख्या पनि कम छैन । हामीले त संगीतबाट सेवा गर्नेमात्र हो । संगीत क्षेत्रबाट शतप्रतिशत सशक्तीकरण हुनुपर्छ । महिलाकै आवाजका गीत गाउनुपर्छ भन्ने हो भने मेरो गीत नचल्न पनि सक्छ । मेरो आफ्नो लगानी हुन्छ, त्यता ध्यान दिनुपर्ने हुन्छ । मैले संगीत क्षेत्रबाट हजार प्रतिशत गरेकी छु, घमण्डका साथ भन्छु । मेरा गीत धेरै सुनिन्छन् । म नै हुँ देशविदेश भ्रमण गर्ने । हरेक ठाउँमा ‘पोइल जान पाम्’ गीत सुनिन्छ, किनभने महिलाहरुले बुझेका छन् । हामी के हौं, हाम्रो अस्तित्व के हो भनेर बुझेका छन् । हाम्रो पोइ कस्तो हुनुपर्छ भन्ने बुझेका छन् । यदि मेरो योगदान हुँदैनथ्यो भने विभिन्न संघ–संस्थाले मलाई नबोलाउनुपर्ने नि । मलाई ‘बाइकट’ गर्नुपर्ने नि । महिला सशक्तीकरणमा मेरा गीतले शतप्रतिशत गर्न नसके पनि एउटा पाटोमा आवाज उठाइरहेको छ र भोलि पनि उठाउनेछ ।
शिवजीसँग माग्ने भनेको श्रीमान् नै हो । मैले बारम्बार भन्ने गरेकी छु, तीजमा तीन कुरा हुन्छ– शीवजी अर्थात् पुरुष शक्ति, नारी शक्ति र गीतसंगीत । त्यसैले नेपाली मौलिक शब्द हो ‘पोइ’ । लोकगीतमा मौलिक शब्द राख्दा म्याच हुन्छ । श्रीमान् लोकगीतमा फिट हँुदैन, त्यसैले मैले ‘पोइ’ शब्द राख्ने गर्छु ।
तपाईं सधैं बिहेको आकांक्षा झल्किने गीत गाउनुहुन्छ । ‘मलमलकीरी’देखि ‘लास्टै चोटि हो’ भन्नेसम्ममा त्यस्तै देखिन्छ । बिहे त्यति धेरै महत्वपूर्ण चिज हो र ?
बिहे महत्वपूर्ण चिज होइन तर चासोको विषय हो । हेर्ने दृष्टिकोण पनि हो । कसैका लागि बिहे महत्वपूर्ण हुन सक्छ, कसैका लागि नहुन पनि सक्छ । मेरा लागि बिहे महत्वपूर्ण विषय होइन । संयोगवश मेरा गीत बिहेसँग जोडिएका हुन् । बिहेसँग जोडेर गीत गाएपछि स्रोता÷दर्शकले चासो लिनुहुन्छ, मन पराउनुहुन्छ । बिहे गर्नु भनेको जीवनको सामान्य काम हो । यसबाट तपाईंहरुले धेरै अपेक्षा गर्नु हुँदैन । सोझो अर्थमा बुझ्दा खाली बिहे, पोइसँग सम्बन्धित गीत गाउँछे भन्छन् । त्यसको गहिराइमा पसेपछिमात्रै त्यसको अर्थ बुझ्न सकिन्छ । त्यसकारण मेरो गीतको गहिराइमा पस्नुस्, बुझ्नुस् । गीतमा विम्ब हुन्छन् । त्यो विम्बले खेल्ने कुरा हो । सिधै भन्यो भने त समाचार भइहाल्यो नि ।
तपाईंका साथीहरूका नातिनातिना भइसके होला । बिहे नगरी बसेका अरु कतिपय साथीसंगीलाई किन चाहियो पोइ ? भन्नुहुन्छ रे । अनि आफैं ‘पोइल पाम्’ भनेर गाउनुहुन्छ फेरि । उहाँहरुलाई गिज्याएको कि आफैंलाई ?
हुनै सक्दैन । म महिलालाई सुसंस्कृत हुनुस् भन्छु । किन पोइ चाहियो भनेर किन भन्छु र ? एउटा महिलाका लागि विवाहपछि श्रीमान्सँगको सम्बन्ध सबैभन्दा प्रिय र अटुट हो, त्यो कुरा मैले बुझेकी छु । त्यसैले महिलालाई पोइ किन चाहियो भनेर भन्दै भन्दिनँ । नातिनातिना हुनु, छोराछोरी हुनु भनेको त सृष्टिको नियम हो । मैले स्वेच्छाले विवाह नगरेको हो । ममा केही कुराको कमी भएको भए पो मलाई पीरचिन्ता हुने हो । आफूखुसी जिन्दगी बाँच्न चाहनेहरूका लागि त्यो कुनै विषयवस्तु नै होइन ।
पश्चिमतिरका लोकभाका हराउँदै जान थाले । तपाईंहरू तिनको संरक्षण गर्नुभन्दा चर्चा कमाउने हल्का गीत गाएर हिँड्नुहुन्छ, दुःख लाग्दैन ?
गाएकै छैन त्यस्ता गीत । मेरा गीतलाई कसले हल्का भन्छ ? के अर्थमा तपाईं हल्का भन्नुहुन्छ ? के अर्थमा तपाईं मेरो गीतमा मौलिकपन हरायो भन्नुहुन्छ ? मेरा हरेक गीतमा मौलिकपन छ । त्यो खाली तीजको बेलामा चर्चामा आएको बेलामा अथवा अरु बेलामा मात्रै हो । मेरो हरेक हप्ताजसो एउटा गीत रेकर्ड भइरहेको हुन्छ । पाँच महिनाको अवधिमा मेरा ३०–४० वटा गीत रेकर्ड भइसकेका छन् । सबै मौलिक नै छन् । नसुनेर वा थाहा नपाएर मात्रै हो । मिडियामा पनि बजिरहेका छन् । तीजका गीत पनि हल्काफुल्का छैनन् । त्यसको गहिराइमा पस्नुस् अनि थाहा हुन्छ ।
क्षमता हुँदाहुँदै पनि तपाईं ठूला व्यक्तिहरूको संगतका कारण छिटै माथि पुगेको हो भनिन्छ । साँच्चै हो ?
यस्तो सोच्नेहरु नै भ्रममा हुनुहुन्छ । म त खासै ठूला मान्छेको संगतले माथि पुगेकी होइन, आफ्नै क्षमताले आएकी हुँ । ममा के कुराको कमी छ र ठूला मान्छेको चाप्लुसी गर्नुप¥यो ? म असल मान्छेसँग संगत गर्छु । मेरो विचारमा मानिसहरु केवल असलमात्र हुन्छन् र हुनुपर्छ । कोही ठूलो–साना हुँदैन । जहाँसम्म म पुगें, आफ्नो क्षमता र योग्यताले पुगेकी हुँ । आज म जुन धरातलमा छु, मेरो क्षमता र योग्यताले छु ।
बेलाबखत उच्च ओहोदामा रहेका प्रशासक, नेता, व्यापारीसँग तपाईंको नाम गाँसिन्छ । हावा नचलेरै पात हल्लिएको हो ?
को व्यापारी, नेता अथवा उच्च ओहोदाका व्यक्तिसँग मेरो नाम जोडिएको छ, मलाई थाहा छैन । मलाई त कसैले भनेको पनि छैन । कसैसँग मेरो सम्बन्ध पनि छैन । कसैसँग कुनै पार्टीमा, ग्यादरिङमा, भेटघाट र सामाजिक काममा भेट्दा, नमस्कार गर्दा कोमल वली भनेर चिन्नुहुन्छ । म काठमाडौं त्यत्तिकै बसिरहेकी छैन । विशिष्ट श्रेणीकी गायिका हुँ । गाउँ–गाउँ, ठाउँ–ठाउँ र देश विदेश जान्छु, गीत गाउँछु । सबैले मलाई चिन्नुहुन्छ, सम्मान गर्नुहुन्छ । यो राम्रो कुरा हो । कसैसँग लुकीछिपी अनैतिक सम्बन्ध छैन । म जे गर्छु, खुलस्त गर्छु, भन्छु । काम पर्‍यो  भने म भेट्न जान्छु । सबैसँग म भेट्छु । मेरो हैसियतको कुरा गर्ने हो भने कुनै मन्त्रीभन्दा कम छैन । एउटा मन्त्रीबराबरको छ मेरो ओहोदा । म स्टेजमा उत्रेपछि लाखौंले ताली बजाउँछन् । घण्टौंसम्म बस्न चाहन्छन्, सेल्फी खिच्न चाहन्छन् ।
तपाईं अहिले प्रेममा हुनुहुन्छ ? अर्थात् विपरीत लिंगीप्रतिको प्रेम ।
विपरीत लिंगीप्रतिको प्रेममा छैन । कसैसँग मेरो त्यस्तो सम्बन्ध छैन । तर, सरसल्लाह गर्ने, बसेर चियाकफी खाने, बौद्धिक कुरा गर्ने त हुन्छन् नि । मान्छेलाई कहिलेकाहीँ केही समस्या पर्‍यो भने सोधपुछ गर्न साथी त चाहिन्छ नि । त्यस्तो सर्कलमा छु, सामूहिक रूपमा । कुनै व्यक्तिगत प्रेममा एक्लै भेट्न अथवा त्यस्तो सम्बन्ध राख्ने कोही थिएन र छैन पनि ।
290892806Komal-(2).jpgब्वाइफ्रेन्डले अँगालो हालेन, किस गरेन भनेर छोडेको भन्ने पनि पढियो कतै । त्यसै हो त ?
होइन, मैले त्यस्तो भनेको थिएन । त्यतिबेला म बिहे गर्ने सोचमा थिएँ । नजिक गएपछि मान्छे चिनिन्छ नि । जोसँग मैले बिहे गर्ने सोच बनाएको थिएँ, नजिक बस्न जाँदा उपयुक्त ठानिनँ र घरजम भएन । मैले त्यो मिडियासँग पनि त्यही भनेकी थिएँ ।
अधिराजकुमार धीरेन्द्रसँग अलि बढी नजिक हुनुहुन्थ्यो रे हो ?
म उहाँसँग नजिक थिइनँ । उहाँसँग भेटेर कुरा गर्ने अवसर पनि मैले कहिल्यै पाइनँ । उहाँसँग कार्यक्रममा मात्र भेटघाट हुन्थ्यो । उहाँको हातबाट पुरस्कार पनि लिन्थें तर नजिकबाट चिन्ने गरी भेट कहिल्यै भएन । अब यो कुरा लुकाएर लुक्दैन । वीरगन्जको कार्यक्रममा मैले उहाँलाई चौकीदार भनेर गीत पनि गाएँ । मेरो गीत सुनेर उहाँले ‘सो ट्यालेन्ट, सुपर्ब’ भन्नुभएको थियो, त्यति हो कुरा ।
तपाईं अहिले पनि राजतन्त्रको पक्षमा हो कि गणतान्त्रिक भइसक्नुभो ?
राजा स्वयंले देश र जनताको भलाइका लागि राजगद्दी छोड्न तयार भएर श्रीपेच सरकारलाई हस्तान्तरण गरेपछि मैले राजतन्त्र भनेर हिँड्नुको कुनै अर्थ छैन । राजतन्त्रप्रतिको मेरो स्नेह र मोह अझै पनि छ । भोलि पनि हुनेछ, किनभने म नैतिक मान्छे हुँ । अनैतिक मान्छेले छेपाराले रंग फेरेजस्तो फेरिरहन्छन् । तर, मैले त्यस्तो गर्न सक्दिनँ । मेरो राजतन्त्रप्रतिको मोह अझै पनि छ । आदर सम्मान गर्छु म । देश र जनताले गणतन्त्र अंगिकार गरिसकेको अवस्थामा मैले राजतन्त्र भनेर बस्नुको केही उपादेयता छैन । देश र जनताले चाह्यो भने फेरि राजतन्त्र आउन सक्छ ।
जहिले पनि चुनाव लड्छु भन्नुहुन्छ, तर लड्न डराउनुहुन्छ । अब कहिले चुनाव लड्नुहुन्छ ?
साँच्चै डराएकी हुँ, किनभने नेपालमा राजनीति फोहोेरी छ । म धेरै फोहोरी खेल खेल्न सक्दिनँ । म जीवनको लक्ष्य सही होओस् र सत्कर्म गर्न सकूँ भन्ने चाहना राख्छु । राजनीति गर्न धेरै फोहोरी खेल खेल्नुपर्ने र कुकर्म गर्नैपर्ने देखियो । राजनीति गर्छु भन्ने व्यक्ति तथा नेताहरू आफ्नो कमिटमेन्टबाट चुकेका छन् । त्यसकारणले म डराएकै हो । त्यो जुवाको खालमा परेपछि म पनि त्यस्तै हुन्छु भनेर हो । मैले लड्छु भनेपछि चुनाव भएको छैन । चुनाव हुने भएछ, संघीयता कार्यान्वयन हुने भएछ भने सोचौंला, चुनाव लडौंला । अब आउने चुनावमा लड्ने सोचमा भने छु ।
तपाईं भाइको घर पनि नियन्त्रण गर्नुहुन्छ रे ! बुहारीलाई कजाएर राख्नुभएको छ रे ! साँच्चै हो ?
हाहाहा.. सो फन्नी क्वोइस्चन । मैले भाइबुहारीको घर नियन्त्रण गरेको होइन र गर्ने पनि छैन । उनीहरु आफैं सक्षम छन् । त्यसमाथि उनीहरू दाङ बस्छन्, म काठमाडौं । हाम्रो संयुक्त परिवार छ । मेरा आमाबुबा हुनुहुन्छ । परिवारमा सबैभन्दा प्रिय म नै छु । भाइबुहारी दुवैले मलाई माया तथा आदर गर्छन् । मैले पनि दिदीको हैसियतले माया गर्छु । आवश्यक सहयोग गरिरहेकी हुन्छु । घरमा पनि मैले केही न केही काम गरिरहेकी हुन्छु । यो अन्तर्वार्ता पढेपछि पक्कै मेरो परिवारका सदस्य हाँस्नेछन् ।
घर त भव्य बनाउनुभएछ, आफ्नै आम्दानीले बनाउनुभएको हो ?
हाम्रो घर त्यति भव्य पनि छैन । सामान्य छ । हामी सबैको लगानीमा बनेको घर हो । परिवारको सदस्य मिलेर माला जोडेर बनाएका हौं । घरभित्र परिवारको मीठो सम्झना जोडिएको छ । मैले आफ्नो आम्दानीले मात्रै पनि त्यस्तै वा त्योभन्दा भव्य घर बनाउन पनि सक्थें र सक्छु पनि । तर, परिवारसँगको सामीप्यताले गर्दा हामी सबैले मिलेर घर बनाएका हौं । मैले मेरो परिवारका लागि धेरै गरेकी छु । द्वन्द्वकालमा माओवादीले सम्पत्ति कब्जा गर्दादेखि लिएर आमाबुबा बिरामी हुँदा उपचार खर्च धेरै भएको थियो । मैले मेरो बुबाआआका लागि केही गर्न सक्नु नै ठूलो कुरा हो ।
विदेशका कार्यक्रम आयोजक तपाईंलाई बोलाउने बेला एकपटक तर्सिन्छन् रे । तपाईंका डिमान्ड पूरा गर्नै सकिँदैन रे । के–के डिमान्ड गर्नुहुन्छ ?
विदेशका कार्यक्रममा जाँदा मैले डिमान्ड नै गर्दिनँ । कुनै गिफ्ट पनि लिन्नँ । गीत गाउन सबैभन्दा धेरै विदेश जाने गायिका म नै हुँला । यदि मेरो त्यस्तो डिमान्ड हुन्थ्यो भने कसैले बोलाउँदैनथ्यो होला नि । उहाँहरु सोध्नुहुन्छ– दिदी, कति लिनुहुन्छ भनेर । त्यतिबेला म १ हजार डलर लिन्छु भन्छु । यो मेरो न्यूनतम पारिश्रमिक हो । सबै ठाउँमा त्यस्तो हुँदैन । मैले लिने पारिश्रमिक देश र कार्यक्रमको प्रकृति हेरेर तय हुन्छ । मैले भनेको कुरा उहाँहरूले दिन नसके पनि म कार्यक्रममा जान्छु । कलाकारको मर्म उहाँहरूले बुझ्नुहुन्छ, त्यसैले डिमान्ड गर्नै पदैन, बुझेरै दिनुहुन्छ । आजसम्म कुनै कार्यक्रम छैन, मैले आफ्नो डिमान्ड राखेर गएको । म च्यारिटी पनि गर्छु ।
तपाईं मुलुकबाहिर र देशभित्र पनि कार्यक्रममा हिँडेको हिँड्यै गर्नुहुन्छ । कार्यालयले कति बिदा दिएको ? अरु कर्मचारीलाई पनि तपाईलाई जस्तै सुविधा छ ?
म रेडियो नेपालको स्थायी कर्मचारी हुँ । विशिष्ट समाचार सम्पादक हुँ । मैले वर्षमा एक महिना घर बिदा पाउँछु । १२ दिन क्यजुअल र पर्व बिदा पाउँछु । अन्य चाडपर्वमा पनि बिदा पाउँछु । मेरो हातको चक्रले हाजिर हुन्छ । अनधिकृत रूपमा बिदा लिएर वा स्वीकृत नगराई म बाहिर गएकी छैन र जाँदिनँ पनि । सरकारी कर्मचारीले पाउने सुविधाबाहेक अन्य किसिमको सुविधा अहिलेसम्म लिएकी छैन । सरकारले दिएको बिदाले अहिलेसम्म भ्याएकै छु । अहिलेसम्म बेतलबी बस्नुपरेको पनि छैन । काठमाडौंमा हुँदा अफिसलाई ध्यान दिन्छु । म बाहिर जाँदा पनि रेडियोको सेवा गरिरहेको ठान्छु । नेपाली गीतसंगीतलाई ‘प्रमोट’ गर्ने काम गरिरहेकी छु । म जुनसुकै ठाउँमा गीत गाउन गएँ भने मलाई गीतका साथसाथै रेडियो नेपालको समाचार भन्न लगाइन्छ । त्यसैले मैले रेडियो नेपालको काम गरिरहेको जस्तो लाग्छ । पहिलेपहिले पञ्चायतकालमा कलाकारलाई रिसर्च गर्न केही पारिश्रमिक दिएर जिल्ला–जिल्लामा पठाइन्थ्यो, गीत गाउन लगाइन्थ्यो । अहिले त्यो छैन । सरकारले गर्दैन, बरु मैले केही जिम्मेवारी बहन गरेजस्तो लाग्छ ।
रेडियो नेपालमा समाचार सम्पादकलाई समेत हप्काउनुहुन्छ रे ! तपाईंलाई रेडियोमा ‘दादा दिदी’ भन्छन् रे ! किन हप्काउनुहुन्छ ?
कुनै सम्पादकले मैले ‘मिसबिहेभ’ गरेको छु भन्छ भने रेडियो नेपालको जागिरबाट राजीनामा दिन तयार छु । अहिलेको जमानामा रेडियो नेपालको लागि अनि जुनियरले मजस्तो सम्पादक पाउनु भनेको ठूलो अवसरको कुरा हो । मैले आफूभन्दा जुनियर तथा भर्खरै आएका समाचार सम्पादकलाई केही न केही सिक भनिरहेकी हुन्छु । त्यही मानेमा कहिलेकाहीँ तिम्रो वाचनमा सुधार भनेकी हुँला, तिम्रो उच्चारणमा सुधार भनेकी हुलाँ अथवा रेडियो नेपालको प्रांगणबाट बाहिर निस्किएपछि ‘ए बदमास’ भनेकी हुँला, त्योबाहेक मेरो डेस्कमा बस्ने बेला मजस्तो व्यवहार कम मान्छेले गर्छन् होला । मैले जस्तो रेस्पेक्ट गर्छु, उनीहरूलाई जिम्मेवारी दिन्छु, त्यसले उनीहरूलाई परिस्कृत गर्छ । पढ्नमा प्रोत्साहन गर्छु, इडिट गर्न दिन्छु, राम्रो काम गरेपछि स्यावासी भन्छु ।
काम गर्दा आफूभन्दा अग्रजलाई सम्मान गर्नु कर्तव्य नै हो । हामीले काम गर्ने बेलामा दुर्गा थापा दाइ, प्रवीण गिरी दाइ, कमल भण्डारी, कृष्णा ताम्राकार, कमल प्रधान, ललित क्षेत्री, तीर्थ भण्डारी, गोपाल बस्नेत र पद्मराज ताम्राकारज्यूहरू अहिले पनि काम गरिरहनुभएको छ । उहाँहरुको अगाडि हामीले सास फेर्न सक्दैनथ्यौं । उहाँहरुले हामीले बनाएका समाचार दुई लाइन यसो हेरेर फाल्दिनुहुन्थ्यो, यसरी बनाऊ भनेर सिकाउनु हुँदैनथ्यो । र, पनि हामीले जहिले पनि उठेर नमस्कार गथ्र्यौं । जहिले पनि सम्मान अभिव्यक्त गथ्र्यौं । त्यो एउटा अनुशासन हो । इन्द्रचोकमा बेच्न राखेको सागपात त होइन नि म ! मेरो त लगानी छ नि रेडियोमा । १८ वर्ष काम गरिसकें । सामान्य समाचार वाचिकाबाट अहिले विशिष्ट समाचार सम्पादक छु भने म त सामान्य व्यक्ति होइन नि । त्यस्तै ठान्नुभएन नि । मैले जुनियरलाई रेस्पेक्ट गर्न सिकाउँछु ।
कसैले ‘दादा दिदी’ भन्नुहुन्छ भने मेरो भन्नु केही छैन । तर, म दिदी भने हो । भात पकाएर, चाप्लुसी गरेर काम गरेकी छैन । रेडियो नेपालमा मेरो योगदान धेरै छ, सम्मान अझै पनि छ । त्यसकारण कसैले त्यस्तो महसुस गर्छ भने मलाई केही फरक पर्दैन ।
तपाईंलाई दरबारबाट पढाइ खर्च आउँथ्यो रे । कहिलेसम्म आयो ?
दाङमा राजारानीको सवारी भएको थियो । राजारानीलाई स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको थियो । मैले त्यही कार्यक्रममा नृत्य गरेकी थिएँ । मेरो नृत्य देखेर रानीले मलाई छात्रवृत्ति दिने घोषणा गर्नुभएको थियो । उहाँले मलाई आफूनजिक बोलाएर ‘तिमी राम्रो नाच्ने रहेछौ, तिमीलाई दरबारबाट पैसा आउँछ’ भन्नुभएको थियो । १० कक्षा पढ्दासम्म पैसा आएको थियो । प्रस्तुति : पुनम डीसीबाह्रखरीवाट

प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार ०२:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *