ठुलो मतान्तरसहित राजीवविक्रम शाह प्रदेश सभा सदस्यमा निर्वाचित

सुर्खेत
समाज सेवाबाट राजनीतिमा उदाएका राजीवविक्रम शाह जाजरकोटबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेश सभा ख बाट ठुलो मतान्तरसहित उनी कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार उनले एमालेका खिमबहादुर शाहीलाई ५५१० मतको अन्तरले पराजित गरेका छन् ।
शाहले १६,०४० र शाहीले १०,५३० मत ल्याएको निर्वाचत आयोगले जनाएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाहका जिजुबाजे काठमाडौं झरेका थिए ।
उनको परिवार तीनपुस्ता देखि काठमाडौमा बस्दै आएपनि शाहले भने आफ्नो पुरानो थातथलो जाजरकोट फर्केर सामाजिक सेवा गरेका थिए ।


२०६६ सालमा झाडापखालाको महामारी फैलिदा उनले हेलिकप्टेरमार्फत औषधी र डाक्टर लिएर हजारौं जाजरकोटबासीको ज्यान बचाएका थिए ।
संकटको वेला सेवा गरेर आफ्नो पहिचान स्थापित गर्न सफल शाह त्यसपछि भने कांग्रेसमा आवद्ध भएर राजनीतिमा होमिएका थिए ।
कोभिड महामारीको बेला पनि उनले प्रदेशका अस्पतालसहित विभिन्न अस्पताललाई एक करोड रुपैया भन्दा बढीका भेन्टिलेटरसहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
२०७० सालमा जाजरकोट क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य जितेका उनी २०७४ सालमा भने झिनो मतअन्तरले प्रतिनिधी सभा सदस्यमा पराजित भएका थिए ।
प्रतिनिधी सभा सदस्य हुँदा राज्यबाट पाउने सेवा सुविधा आफुले नलिएर उनले जाजरकोटका विपन्न नागरिकको हितमा खर्चेका थिए ।

प्रकाशित मितिः ७ मंसिर २०७९, बुधबार ०५:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *