विमला शर्मा
जाजरकोट १८ जेठ ।
शान्ति स्थापना भएको दशवर्ष भैइसक्दा पनि जाजरकोटको दह गाविस जुनि गाउँका वासिन्दाले अझै शान्तिको अनुभुति गर्न सकेका छैनन् । युद्धको क्रममा ३१ जनाले ज्यान गुमाएको जुनीमा द्वन्द्वको घाउ अझै पुरिएको छैन । २०५५ साल मंसिर १० छिमेकीको विवाहमा जन्त गएका एकै घरका ४ दाजुभाई माओवादीको आरोपमा प्रहरीले सामुहिक हत्या गरेको थियो ।
दैलेखको कालिकामा विवाहमा सहभागी हुन गइरहेको वेला मजकोटको भालु कुइयामा गोरे घर्ती, सुरजसिंह घर्ती, खडग घर्ती, र केशववहादुर घर्तीलाई आतंकारीको नाममा सामुहिक हत्या गरेको पीडालाई जुनीबासीले अझै विर्सेका छैनन् । रोग, भोग र गरिवीले पछाडि परेका जुनीवासीको पीडामा मलम लगाउन सरकार उदासिन देखिएको छ ।
कम्युनसहित जुनीमा २ सय घरधुरी जनजाती र १० घरधुरी दलित रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा जुनी जनयुद्धको वेला निकै सुरक्षित सेल्टर मानिने गरेको वताउनु हुन्छ । राज्यवाट वढी प्रताडित भएपनि वलीदानी र त्यागका हिसावले अगाडी रहेकोले २०५६ चैत्र १२ गते जुनी कम्युन वनाएको उहाँको भनाई छ । जुनी कम्युन माओवादीद्धारा युद्धकालमा वनाएको नेपालकै सवैभन्दा जेठो कम्युन भएको नेता शर्माले दावी गर्नुभयो ।
जुनी कम्युनको नाममा माओवादीले युद्धकालमा जुनी वाल संरक्षण केन्द्र वनाएको थियो । अहिले यो माधामिक विद्यालयका रुपमा संचालन भैइरहेको छ । २८ जना राज्य र ३ जना माओवादीवाट जुनिका वासिन्दा मारिएका थिए । जुनी कम्युन १०४ सदस्यीय परिवारवाट सुरु भएको थियो । एक दशकसम्म चलेको कम्युन अहिले विगठन भइसकेको छ । कम्युन विगठनसगै युद्धको क्रममा अभिभावक गुमामएका अधिकाश वालवालिका विद्यालय जान छाडेको जुनिका ओयलसिंह घर्तीले बताउनु भयो । आर्थिक अभावले गर्दा वालवालिकाको उच्च शिक्षा पढने सपना अधुरै रहेको उहाँले वताउनु भयो । सानैमा आमा वावु गुमाएकाहरु अहिले निकै समस्यामा परेका छन । जुनिका स्थानीय जयवहादुर घर्तीले आफनै घर नभएका १२ घरपरिवार अहिले सामुहिक घरमा वसिरहेका छन ।