आलुको उत्पादन घट्दा जाजरकोटका किसान मर्कामा

IMG_0532
आलु खेतीको पकेट क्षेत्र पाँचकाटीयाका किसान आलु खन्दै ।

बद्री पन्त
जाजरकोट ५, असार
आलु खेतीको लागी पकेट क्षेत्र मानिएको जाजरकोटको ढिमे १ पाँचकाटियामा यस बर्ष आलु उत्पादन घटेको छ । सुख्खा खडेरी र डडुवा रोगले उत्पादन घटेको हो ।
लामो समय देखि व्यवसायीक आलु खेती गर्दै आएका आलु खेती कृषक उत्पादन घटेपछि निरास देखिएका छन् । आलु उत्पादनको सिजनमा सुख्खा खडेरी र डडुवा रोग लागेपछि उत्पादन घटेको हो । सिचाई सुविधा नहुदा उत्पादन घटेको बताएको छ ।
पाँचकाटीयाका ४० घर कृषकले १ सय ५० रोपनी क्षेत्रफल खेतबारीमा आलु खेती गर्दै आएका छन । उनीहरुले मकै, गहुँ, जौँ, तोरी, कोदो, फापर लगाउने जमिनमा आलु खेती गर्दै आएका छन । आलु खेतीबाट प्रति कृषकले बर्षमा ५० हजार देखि ३ लाख रुपैयासम्ममा आम्दानी गर्दै आएका थिए । यस पटक उत्पादन ८५ प्रतिशतले घटेको किसान दिर्घराज आरसीले बताए । आलुको उत्पादन घटेपछि आलु खेतीबाट जीवन निर्वाह गर्दै कृषक निकै समस्या परेका छन ।
६ रोपनी जग्गामा १० क्विन्टल आलुको बिउ लगाएको बारीमा डेढ क्विन्टल पनि आलु नफलेको कृषकको गुनासो छ ।
सदरमुकाम खलंगाबाट २५ किलोमिटर दुुरीमा रहेको उच्च लेकाली क्षेत्र पाँचकाटिया अहिले आलु खेतिले प्रख्यात बनेको छ । आलु राम्रो फल्न थालेपछि सबै किसानले आलु खेति गर्न थालेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले वताए । उनले आलु खेतीमा आधुनिकीकरण नहुनु, कृषकमा प्राविधीक ज्ञनको कमी, पुरानो विउ लगाउनु, सिचाइ सुविधा नहुनु लगाएतका कारणले आलु उत्पादन घट्दै गएको बताए ।
चैत र बैशाख पानी नपर्दा डडेलोले आलु जमिनमै डडेको कृषक डिल्ली थापाले बताए । आकाशे पानीका भर आलु खेती हुने गरेको छ । सिचाईंको ब्यबस्था छैन, उनले भने । बजारमा पाईने हाईबे्रड जातको आलु भन्दा फरक स्वादको भएकोले यसको माग बढ्दो रहेको छ । जिल्ला कृषि विकास कार्यालयले यो बर्षको सुख्खा खडेरीले आलु उत्पादन घटेको जनाएको छ ।

प्रकाशित मितिः ५ असार २०७३, आईतवार १२:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *