
बद्री पन्त
जाजरकोट १०, असार
जाजरकोट नायकवाडा ६ तोलखानाकी पवित्रा सिंह दिनहँु गिट्टी कुटन ब्यस्त हुन्छिन । गिट्टी कुट्नु रहर नभई उनको बाध्यता हो । गिट्टी कुट्दा कुट्दा उनको हातमा ठेला बसेका छन् । जीन्दगी राम्रै सँग चलिरहेको थियो । २ छोरा १ छोरी र श्रीमान सानो परिवार थियो । श्रीमान विर्खबहादुर सिहले मजदुरी गरेर भएपनि परिवार राम्रै सँग पालेका थिए । पवित्रालाई कुनै कुराको पिरलो थिएन तर जव विवाह गरेको ७ बर्ष नपुग्दै २७ बर्षको उमेरमा पतिको जन्डिस विग्रिएर ज्यान गयो त्यसपछि उनका दुःखका दिन शुरु भए ।
छोराछोरी साना थिए श्रीमानको काल भयो अनि लालनपालनको जिम्मेवारी सवै मेरै काँधमा आयो पवित्राले भनिन । जसरी पनि छोराछोरीलाई पढाउँछु भनेर सदरमुकाम खलंगा आँए । ऋणसाहु गरेर सानो होटल खोले होटल पनि राम्रो सँग चलेन सवैले उधारो खाएर पैसा दिएनन् । छोडेर अहिले गिट्टी कुट्न थालेकी छु । गिट्टी कुटेरै भएपनि तीनै जना बच्चाहरुलाई जेनतेन पढाउने र छाक टार्ने गरिरहेकी थिए । मेरो दुःख देखेर नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष तथा काँग्रेस महासमिति सदस्य मैना कार्की रावलले गत बर्ष छोरी प्रतिमालाई काठमान्डौ लगेर पढाउने ब्यवस्था मिलाईदिनु भएको पवित्राले बताईन । कान्छो छोरा भैरव सिहलाई हालै राप्रपा नेपालकी केन्द्रिय सदस्य अन्जना शाह रावलले पढाईदिने भनेर काठमान्डौ लगिदिनु भयो अहिले अलि हल्का भएको छ उनले भनिन जेठो छोरा सदरमुकामकै त्रिभुवन उच्च माविमा ९ कक्षामा पढ्छ । श्रीमानको उपचारमै भएको धनसम्पति सकियो सम्पतिको नाममा नायकवाडामा अलिकति पाखो जग्गा मात्र छ ।
श्रीमानको मृत्यु भएको अहिले ८ बर्ष पुग्यो म फर्केर घर गएकी छैन उनले भनिन गिट्टी कुटेरै भएपनि छोराछोरीले सक्ने सम्म पढाउँछु तर भीख माग्दिन । मेरो दुःख देखेर छोराछोरीलाई पढाउन सहयोग गर्ने मैना र अन्जनालाई उनले हृदय देखि धन्यवाद दिईन । मेरो दुःख उहाँहरुले देख्नु भो उहाँहरुलाई भगवानले अझै राम्रो ठाँउमा पुरयाउन उनले भनिन ।