बद्री पन्त
जाजरकोट १८, असार ।
जाजरकोटमा विश्वमै दुलर्भ रेडपाण्डाको गणना गरिएको छ । पहिलो पटक रेडपाण्डा हाव्रेको गणना गर्दा जाजरकोटमा करीब ५० ओटा रेडपाण्डा भएको अनुमान गरिएको छ । रेडपाण्डा संरक्षण नेटवर्क अनुसन्धानकर्ता बद्री बरालको टोलीले यस्तो तथ्य फेला पारेको हो ।
प्राकृतिक बास स्थानमा दिसालाई आधार मानेर बंशानुगत अध्ययन गरिएको र ल्यावमा रेडपाण्डाको दिसा परिक्षण गरेपछि संख्या एकिन हुने अनुसन्धानकर्ता बरालले जानकारी दिए । विश्व बन्यजन्तु संरक्षण कोष हरियो बन कार्यक्रमको सहयोगमा रेडपाण्डा संरक्षण नेटवर्कले जिल्लाका उत्तरी भेगका रोकायगाँउ, नायकवाडा र सक्ला गाउँविकास समितिका सागवारी, कराईचुली, ढोटचौर, ठाकुरज्यु, सजवन, चाखुरे, चौथारी, गाईखुवा, खामे हिमचुली, फुलवारी लगायतका जंगलमा गएर रेडपाण्डाको दिसाको नमुना संकलन गरेको हो ।
अनुसन्धानकर्ता बरालको टोलीले दुई हप्ता लगाएर रेडपाण्डाको गणना गरेको हो । रेडपाण्डाका विषयमा नेपालमा पहिलो पटक विद्यावारिधि गर्न लागेका अनुसन्धानकर्ता अर्जुन थापा सहितको एक टोलीले जिल्लाको वारेकोट क्षेत्रमा रेडपाण्डाका वारेमा अनुसन्धान गरेपछि जाजरकोटमा २०७० सालमा रेडपाण्डा भएको पत्ता लागेको थियो । २ हजार देखि ४ हजार ८ सय मिटर अग्लो क्षेत्रमा पाइने रातोपाण्डा विश्वमानै दुर्लभ जिवमा पर्दछ । विश्वमा १० हजार सख्यामा र नेपालमा २ सय ३७ ओटा मात्र हाव्रे रहेको अनुमान गरिएको छ ।
विश्व संरक्षण संघले रेडपाण्डालाई सकटासन्न जीवका रुपमा सुचिकृत गरेको छ । रेडपाण्डाको बासस्थान नेपाल सहित भुटान, भारत, म्यानमार र चिनमा मात्र रहेकोले पनि यसको महत्व बढ्दै गएको छ । केही बर्ष अघि सम्म जाजरकोटमा रेडपाण्डा प्रशस्त मात्रामा पाईने गरेपनि चेतनाको अभाव , चोरी शिकारी, बनविनास, आगलागी, जलबायुपरिवर्तन उचित बास स्थानको अभावमा लोपहुदै जान थालेका छन् । रेडपाण्डा संरक्षणमा स्कुले विद्यार्थी प्राकृतिक बास स्थान उपयुक्त हुँदाहुदै पनि जनचेतनाको अभावमा जाजरकोटका विभिन्न जंगलमा पाईन रेडपाण्डा लोप हुदै जान थालेपछि स्कुले विद्यार्थी मार्फत रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।
रुफोड फाउन्डेसनको आर्थिक सहयोगमा स्थानिय बारेकोट पर्यावरण तथा एकिकृत विकास अभियानको साझेदारीमा रेडपाण्डा संरक्षण अभियान थालिएको हो । अभियान अन्र्तगत सक्ला स्थित सीता माध्यमिक विद्यालय कार्कीजीउला, नायकवाडा स्थित सरस्वती माध्यामिक विद्यालय सिलिङ्गे, रोकायगाँउ स्थित वीरेन्द्र ऐश्वर्य उच्च माध्यामिक विद्यालय लिम्सामा तीन ओटा ईको क्लव गठन गरिएको छ । ईको क्लव मार्फत हाब्रेको संरक्षणका लागी विभिन्न क्रियाकलाप संचालन गरिने सरस्वती मावि ईको क्लवका अध्यक्ष राधिका बोहराले बताईन । उनले विश्वमै लोपोन्मुख अवस्थामा रहेको हाब्रेको संरक्षणमा लाग्ने बताईन । रेडपाण्डाको बास स्थानको संरक्षण र चोरी शिकारी रोक्न आफुहरुले पहल गर्ने उनको भनाई छ ।