नलगाड नगरपालिका ३ र ६ का दर्जनौ घर पहिरोको उच्च जोखिममा

बद्री पन्त
जाजरकोट, २ भदौ ।
बाढी र पहिरोबाट जाजरकोटको नलगाड नगरपालिका ३ र ६ का घर तथा विद्यालय जोखिमा परेका छन । लगातारको वर्षाताका कारण वडा न ३ को सानावन, कट्के, रंगपाइला, बासकोटी, ठुलो करुवा र वडा न ६ का पिउली, गरागली, फर्साका घर तथा पुलहरु पहिरोको जोखिमा परेका हुन ।
शुक्रवार राती गरागली खोलामा आएको बाढीले वडा न ६ को फर्सा र गरागली जोडने ट्रस ब्रीज बगाएको छ । यस्तै पिउलीको कौशिला बुढा र फर्साको जसन्ते कामीको घर पहिरोले बगाएको छ ।
फर्साका अमृत विक, हिरालाल बिक, सर्वे विक, रंगे कामी, प्रेम विक, गंगाराम कामी, गोपी कामी, दले कामी कृपाल कामी घरको पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
उनीहरुको घरमाथी धाजा फाटेको छ भने तलबाट पहिरो गइरहेको छ । पहिरोका कारण पिउलीका अमर पुन, खर्कबहादुर पुन, चन्द्रबहादुर बुढा, जयबहादुर विक, हर्कबहादुर विक, मानबहादुर विक, रणबहादुर विकको घर र जयप्रिय प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताउँनु भयो । यस्तै ओवाडाँडीका नरबहादुर डाँगीको घरपनि पहिरोको जोखिमा रहेको छ ।
पहिरोको कारण वडा न ३ सानावनका २३ घर परिवार विस्थापित भएका छन । पहिरोले सानावनका लालबहादुर बुढा र डम्वर बुढाको घर फलेको छ । बस्तीको तल करिव ७ सय मिटर लामो पहिरो गएको वडाध्यक्ष प्रचण्ड ओलीले जानकारी दिनुभयो । बाढीले शनिवार दिउँसो वडा न ६ को पिउली र वडा नम्वर ३ को ओवाडाँडी जोडने काठको पुल पनि बगाएको छ ।
वाढी र पहिरोको कारण दुई दर्जन भन्दा बढी खानेपानी आयोजना प्रभावित भएका छन । पुल वगाएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । झुम्रो खोलामा आएको बाढीका कारण पुलहरु बगाएपछि एक दर्जन भन्दा बढी विद्यालयको पढाई प्रभावित भएको छ । आवतजावतमा समस्या भएपछि विद्यालयको पढाई प्रभावित भएको हो । पहिरोको कारण वडा न ३ र ६ मा गरी करिव ५० घर उच्च जोखिमा रहेको वडाध्यक्षहरुले बताउनुभयो । उहाँहरुले क्षेतिको विवरण संकलन गर्ने काम भइरहेकोले वडाको तर्फबाट पहिरो पीडितहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गनुभयो ।
गत साउन २६ गते आएको बाढीले नलगाड नगरपालिको वडा नम्वर १, २, ३, ४ र ५ का खोलाका पुल बगाएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्यान निमावि रघुनाथमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित छन । लहँ र डाँडागाउँका बासिन्दाको आवतजावत ठप्प भएको छ । बाढीले मिल, पानीघट्टसमेत बगाएकाले अन्न पिस्न पनि समस्या भएको छ । त्यस्तै नलगाड– ८ खगेनकोटमा रहेको पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविमा पनि पहिरोले क्षेति गरेको शिक्षक बीरबहादुर खत्रीले बताउनु भयो ।
झुम्रेखोलामा आएको बाढीले कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ ।
बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गर्ने काम थालेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउँनु भयो । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न नगरपालिकाले कार्यदल पनि गठन गरेको उहाँले जानकारी दिनुभयो । बाढी र पहिरोवाट करोडौंको क्षति भएकाले सक्दो सहयोग गर्न पनि उहाँले सम्वन्धीत सवैलाई आग्रह गर्नुभयो ।

 

प्रकाशित मितिः ३ भाद्र २०७५, आईतवार ०६:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *