जाजरकोटमा HVAP को सवा ६ करोड लगानी

जाजरकोट, १७ भदौ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जाजरकोटका किसानलाई ६ करोड १७ लाख रुपैया अनुदान सहयोग गरेको छ । चारवटा मुल्य श्रृंखलामा आयोजनाको अनुदान पाएपछि लाभग्राहीहरुले पनि आफ्नो तर्फबाट १ करोड ८९ लाख रुपैया खर्च गरेका छन । संझौता भएको ६ करोड १७ लाख रकम मध्ये २०७५ साल असार मसान्तसम्म ५ करोड २५ लाख रुपैया भुक्तानी दिइसकेको आयोजनले जानकारी दिएको छ ।


आयोजनाले जाजरकोट जिल्लामा बेमौसमी तरकारी, खसीबोका, टिमुर र बेसार मुल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरेको थियो । ८३ वटा उप–आयोजना मार्फत २ हजार ८ सय २६ घरधुरी किसानको आयस्तर बृद्धिमा आयोजनाले सहयोग गरेको छ । भेरी नगरपालिकामा ६४, छेडागाडमा ९, नलगाड नगरपालिकामा ४ र कुशे गाउँपालिकामा ६ वटा उप आयोजना संचालन भएका थिए ।


जाजरकोटमा आयोजनाले सहयोग गरेका किसानहरुको आम्दानी आधार वर्षको तुलनामा ९६ हजार ९ सय १० रुपैया अर्थात २ सय ८४ प्रतिशत बृद्धि भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताउनु भयो । उहाँले आधार वर्षमा प्रतिघरधुरी ३४ हजार १ सय रुपैया रहेको किसानको आम्दानी बढेर आयोजना सम्पन्न हुँदा एक लाख ३१ हजार रुपैया पुगेको उल्लेख गर्नुभयो ।


आधार वर्षको तुलनामा बेसारमा १२ हजार ६ सय ३४, खसीबोकामा ३७ हजार १ सय २३, बेमौसमी तरकारीमा ६२ हजार ५१ र टिमुरमा १९ हजार २ सय ५ रुपैयाले आम्दानी बढेको छ । आयस्तर बृद्धिसगै उत्पादन पनि बढेको छ । आधार वर्षमा २ सय १६ मेट्रिक टन उत्पादन रहेकोमा आयोजना सम्पन्न हुँदा बढेर ९ सय १२ मेट्रिक टन पुगेको छ भने बिक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको पाइएको छ । आधार वर्षमा प्रति वर्ष ७६ मेट्रिक टन रहेकोमा आयोजना सम्पन्न हुँदाको बर्ष विक्री परिमाण बढेर १ सय ४८ मेट्रिक टन पुगेको आयोजना प्रमुख भारीले जानकारी दिनुभयो । आयोजनाले सहकार्य गरेका मध्ये अतिगरिव ३१ प्रतिशत, मध्यम गरिव ४९ प्रतिशत, सामान्य गरिव १७ प्रतिशत र सम्पन्न ३ प्रतिशत किसान समेटिएका छन । यस्तै ६४ प्रतिशत महिला र ३६ प्रतिशत पुरुषलाई समेटिएका छन । आयोजनाले भौतिक पूर्वाधार निर्माणका साथै ग्रामिण सडक सुधारमा पनि सहयोग गरेको छ ।

किसानले उत्पादन गरेको कृषि जन्यबस्तुलाई बजारीकरण गर्नको लागि भेरी नगरपालिका –६, को पासागाडबाट बाघखोरहुदै चिसापानी जोड्ने ग्रामिण सडक सुधारमा सहयोग गरेको छ । यस्तै पिपे र पुन्मामा २ वटा ट्रष्ट ब्रिज, विभिन्न ठाउँमा १० वटा सिमेन्ट पोखरी, ३ हजार ९ सय ८४ मिटरको सिंचाई कुलो निर्माण पनि गरेको छ , भने सिचाईको लागि ७ वटा प्लाष्टिक पोखरी निर्माण गरेको छ । आयोजनाले टिमुर उत्पादक किसानको लागि टिमुर सुकाउने ग्रीन हाउव २४ वटा, बाख्राको बाह्रय परिजीवी नियन्त्रणको लागि १३ वटा डिपिङ्ग टंकी, बेसारको एउटा बीउ भण्डारण गृह, ४ सय ६४ वटा बाख्राका आधुनिक खोर, १ सय ४६ वटा सुधारिएका खोरहरु समेत निर्माण गरेको जनाएको छ । यस्तै आयोजना लागु भएपछि टिमुर सुकाउने लागि ४ सय ६२ वटा टहरा, ३ सय ७४ वटा प्लाष्टिक घर र नश्ल सुधारको लागि १५ वटा बोयरसहित १ सय ४३ वटा बोका समेत किसानलाई प्रदान गरेको छ ।


यस्तै आयोजनाले भेरी नगरपालिका –१०, राउतगाउँमा भेरी नदिबाट सोलार प्रविधिबाट पानी तानेर ५ सय रोपनी जमिनमा सिंचाई सुविधा पुर्याएको छ भने बेमौसमी तरकारी उत्पादनको लागि १५ वटा आधुनिक प्रविधियुक्त फलामे टनेल समेत बनाएको आयोजनाका सामाजिक विकास अधिकृत अमर चन्दले जानकारी दिनुभयो । उहाँले आयोजनाले व्यवसायिक साक्षरता कक्षा संचालन गरी ४३ वटा समुह सहकारीमा आवद्ध १ हजार ७५ जना महिलाको व्यवसायिक सीप र उद्यमसिल क्षमता विकासमा टेवा पुर्याएको पनि बताउँनु भयो ।


यसैवीच उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गरी सम्पन्न भएका उप–आयोजनाहरु जाजरकोट जिल्लाका सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । आइतवार सदरमुकाम खलंगामा भएको आयोजना सम्पन्न गोष्ठीमा ५९ वटा कृषक समुह÷सहकारी संस्था र ८ जना निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका ८३ वटा उप आयोजनालाई भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । गोष्ठीमा आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले उप आयोजनाको बिस्तृत विवरणसहित भेरी नगरपालिकालाई ६४ वटा, छेडागाड नगरपालिकालाई ९ वटा, कुशे गाउँपालिकालाई ६ वटा र नलगाड नगरपालिकालाई ४ वटा उपआयोजना हस्तान्तरण गर्नु भएको छ ।


उप आयोजना हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद आचार्यले आयोजनाले गरिव तथा निम्न किसानको आम्दानी बृद्धि गर्न र उनीहरुलाई व्यवसायिक बनाउन ठुलो योगदान दिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कृषिको व्यसायिकरण र आधुनिकीरण गरी किसानको आयस्तर बृद्धि गर्न आयोजनाले योगदान दिएको उल्लेख गर्नुभयो ।भेरी नगरपालिकाका कार्यवाहक प्रमुख दिपक रानाले कृषिको आधुनिकीरणमा जोड दिनुभयो ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्रीराम घिमिरे किसानको आर्यआर्जन बढाउन आयोजनाले गरेको कामको प्रशंसा व्यक्त गर्नुभयो ।नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंहले कृषि व्यवसायलाई आधुनिकीकरण गदै किसानको जीवनस्तर सुधार गर्न आयोजनाले महत्वपूर्ण भुमिका खेलेको बताउँनु भयो ।


जिल्ला सहकारी संघका प्रतिनिधी ललितराज भण्डारी, उद्योग बाणिज्य संघका प्रतिनिधी शीवविक्रम हमाललगायतले आफनो भनाई राख्नु भएको छ  कार्यक्रमको समापन गदै आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल रुपमा कार्यन्वयन गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै आगामी दिनमा पनि रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः १७ भाद्र २०७५, आईतवार १६:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *