गाउँघरमा दसैंको चहलपहल कम

बद्री पन्त
जाजरकोट २८, असोज
घटस्थापानको पाँच दिन बितिसक्दा पनि जाजरकोटको दुर्गम गाउँघरमा दसैंको उचित चहलपहल देखिएको छैन । रोजगारीका लागि युवा पलायनसँगै आर्थिक अभावमा विगत वर्षहरूको तुलनमा चहलपहल कम भएको हो ।
गाउँघरका युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेश पलायन भएका छन् । गाउँघरमा वृद्धा, महिला र बालबालिका मात्रै बस्छन् । राम्रो लाउने र मीठो खाने मान्यता बोकेको चाड दसंै रेमिटेन्सका कारण वर्षभरि नै राम्रो लाउने र मीठो खाने भइ रहन्छ ।
दसैंमा मीठो खाने र राम्रो लाउनु पर्ने बाध्यता हटिसकेको छ । पहिलेपहिलेको जस्तो १ र २ महिनाअघि नै दसैंका लागि जोहो गर्ने बानी हटिसकेको छ बारेकोट ४, का गणेशबहादुर शाहीले बताए । दसैंका लागि महिनौं पहिलेदेखि मासुका लागि खसी बोका जोहो गर्ने चलन हटेको शाहीले बताए । घरमा चामल अन्नबाली वर्षभरि नै घरमै मौज्दात भइरहेकाले पनि दसैंको महत्त्व घटदै गएको ग्रामीण क्षेत्रका सर्वसाधारण बताउँछन् ।


दसैंका लागि मास र चालमको जोहो गर्न आतिनुपर्ने अवस्था छैन । पहिले जस्तो होइन, अहिले चाहिएको दिन आवश्यक परेको मासु चालम घरमै पाउछ । त्यसैले खानुभन्दा एक दिनअघि मगाउँदा घरमै पाउछ, उनले बताए । घरघरै आवश्यक सामग्री चाहिएकै दिन आएपछि महिनौंदेखि भण्डारण गर्नुपर्ने बाध्यता हटेको छ । ‘पहिले पहिले दसैं आउनुभन्दा कम्तीमा पनि २० दिन पहिले नै आवश्यक सम्पूर्ण सामग्री तयार गरिन्थियो,’ शाहीले भने । खसी पनि खोरमै हुने भएकाले जुन दिन मार हान्ने हो त्यसै दिनमात्रै खोरबाट निकालेर मार हानिन्थियो ।’ घरमा नभएको वस्तु १५ दिन पहिले र घरमा भएको छदै थियो, त्यसैले घटस्थापना अगावै गाउँघरमा रौनक हुने गरेको शाहीले बताए । पहिले दुई महिना पहिलेदेखि नै दसैंको रौनक सुरु हुन्थ्यो नलगाड नगरपालिका ५ सिर्केका कर्णबहादुर सिंहले भने, ‘अहिलेको जस्तो रेडिमेट कपडा पाइँदैन थियो, दसैंका लागि लुगा सिलाउन पहिले नै दमाइको बन्दोबस्ती गरेर लुगा सिलाइन्थियो ।’ त्यसैले लुगा सिलाउन थालेदेखि नै विस्तारैविस्तारै दसैंको रौनक सुरु हुने गरेको सिंहले बताए ।


ढुंगामाटोको घर लिपपोत सेतोकमेरोले छिप्ने गरिन्थ्यो । यसले गाउँघरमा दसैं धेरै छिटो आउने गर्दथ्यो । चामल र कपडाको पहिले नै जोहो नगरेर भनेको बेला तयार गर्न सम्भव थिएन ।’ त्यसै पनि दसैंको रौनक महिना दिनअगावै आउने गरेको थियो । तर अहिले टीकाको दिन आउन ५ दिन बाँकी रहँदा पनि गाउँमा दसैंको रौनक नआएको हो । यतिवेला गाउँघरमा अन्नबाली भित्र्याउने चटारो छ ।

प्रकाशित मितिः २८ आश्विन २०७५, आईतवार १२:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *