पक्की पुलले जोडेपछि सहज

टुकमाया घर्ती
जाजरकोट ५, मंसिर
भेरी नदीमा पक्की पुल बने पछि रुकुम पश्चिमको चिसापानी र जाजरकोटको कालीमाटीलाई सडक सञ्जालले जोडेको छ । जाजरकोट डोल्पा – सडक अन्तैगत चिसापानी बैरीताल पुल निर्माण सम्पन्नले स्थानीय बासिन्दाको सास्ती हट्नुको साथै दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज भएको छ ।
नलगाड नगरपालिका १, बैरीताल र रुकुम पश्चिम आठबीसकोट नगरपालिका ११ विच भेरी नदीमा निर्माण शुरु भएको ५ बर्ष पछि उक्त पुलको निर्माण सम्पन्न भएको हो । भेरी नदीको चिसापानी बैरीतालमा स्टील ट्रस पक्की मोटर पुल बनेको हो । ९ करोडको लागतमा निर्माण सम्पन्न पुल ६६ मीटर लम्बाई र साडे सात मीटर चौडाईको छ । पुल बनेपछि यात्रुवाहक सवारी साधन निर्वाधरुपमा आवजावत गर्न थालेका छन् । पुलबाट ब्यापारी सहजरुपमा सामान ओसारपसार गर्न थालेका छन् ।


पुलले यात्रा सहज बनाएपछि स्थानीय खुशी भएका छन् । यस अघि सवारी तथा ढुवानी साधन रुकुम पश्चिमको चिसापानीसम्म पुग्ने गरेका थिए । ट्रक र ट्याक्टरले चिसापानी सम्म पुर्याएको सामानलाई कालीमाठी, दल्ली, कैना लगायत स्थान लैजान पिठ्युमा बोकेरै बैरीतालको झोलुङ्गे पुल तानुपर्र्ने वाध्यता थियो ।
पुलले चिसापानी र कालीमाठी मात्र जोडिएका हैनन्, सदरमुकाम खलंगा, सुर्खेत, नेपालगंज लगायत स्थानसम्मको यात्र पनि सहज भएको छ । गाडी चढ्न रुकुम पश्चिमको चिसापानीसम्म पैदल हिड्नु पर्ने बाध्यताको अन्त्य हुनुको साथै सामान ढुवानीमा सहज भएको नलगाड २ का लभकुस वलीले बताउनु भयो ।
पुल बनेपछि नलगाड नगरपालिका, बारेकोट गाउपालिका र डोल्पाका बासिन्दालाई आवजावत गर्न र उपभोग्य बस्तु आपुर्ती गर्न सहज भएको छ । सडक सञ्जालले नजोडिदा बारेकोट गाउपालिका बासिन्दालाई भने कालीमाठी बजारसम्म पैदल हिड्नु पर्ने वाध्यता टरेको छ ।
जाजरकोट डोल्पा सडकमा पर्ने दर्जन खोलामा पुल नबन्दा डोल्पासम्मको सीधा यातायात गर्न बाधा पुगेको छ । पुल निर्माणले दैनिक उपधोग्य सामग्रीको ढुवानी सहज भएको छ । पुल नहुदा एक ट्रक सामान चिसापानीबाट कालीमाठी पुर्याउन २५ हजार खर्च लाग्थ्यो, अहिले २ हजार खर्च हुदैन व्यापारी देविलाल वलीले बताउनु भयो ।
भौगोलिक विकटता, सडक पहु“चको अभाव लगायत कारण ३ बर्षमै निर्माण सम्पन्न हुने पुल ५ बर्षपछि निर्माण भएको सडक डिभीजन कार्यालय चौरजहारीका ईन्जिनियर सुशील पौडेलले बताउनु भएको छ । पुलको निर्माण आशीष निर्माण सेवा भरतपुर, चितवनले गरेको हो ।
जाजरकोट डोल्पा – सडक अन्र्तगत पर्ने खोलाहरुमा धामाधा पुल बन्ने कार्य जारीरहेको पौडेलले बताउनु भएको छ । नलसिंहगाड खोला र ता“सुखोलामा पनि निर्माणका लागि विस्तृत सर्भे भैसकेको छ । भेरी नदीको तल्लुबगर – छरीबगर स्थित पुल पनि चालु आर्थिक बर्षदेखि नै निर्माण शुरु हुने भएको छ । तल्लुबगर – छरीबगर, नलसिंहगाड खोला, ता“सुगाड खोला, त्रिबेणी – करपगार, खदाङ्ग, लगायत स्थानमा मोटरेवल पुल नबनेसम्म जाजरकोट डोल्पा सडकमा यात्रा गर्न कठिनाई हुने ईन्जिनियर पौडेलले बताउनु भएको छ ।

प्रकाशित मितिः ५ मंसिर २०७५, बुधबार २०:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *