गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रोकिन्छ – उपप्रमुख भण्डारी

बद्री पन्त
जाजरकोट २५, पुस ।
भेरी नगरपालिकाकी उप प्रमुख भावना भण्डारीले गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रकम रोकिदिने बताउनु भएको छ । निर्माणाधीन विकास योजनाको गुणस्तरीयता, प्रभावकारीता तथा जनगुनासो सुन्न मंगलबार कालेगाउँ, रावतगाउँमा निर्माणाधीन विभिन्न योजनाहरुको स्थलगत अनुगमनको क्रममा यस्तो कुरा बताउनु भएको हो । उपप्रमुख भण्डारीको संयोजकत्वमा गठित अनुगमन समितिले निर्माणाधीन योजनाहरुको अनुगमन गरेको थियोे ।


अनुगमनका क्रममा कालेगाउँ रिम्ना सडक मर्मत योजना, शिबालय भेरी नदि तारजाली, रावतगाउँ कोलचौर सडकको तारजाली लगाएत योजनाको अनुगमन गरेको थियो । दुइ स्थानको तारजालीको काम सन्तोसजनक रहेको पाइयो उपप्रमुख भण्डारीले बताउनु भयो ।
रिम्ना सडकको विभिन्न स्थानका खाल्डाखुल्डी पुर्नको लागि रोडा गिट्टी हाल्ने र सहज बाटो बनाउनको लागि ५ लाख बजेटको काम भने राम्रो गरेको पाइएन भण्डारीको भनाइ छ । कामको जिम्मेवारी लिएको उपभोक्ता समितिले रोडा गिट्टी हाल्नेमा बालुवा मात्र हालेको पाइयो, सुधार गर्न भनेका छौ अटेरी गरे रकम भुक्तानी हुदैन भण्डारीले बताउनु भयो ।


निर्माण उपभोक्ता समितिलाई समयमै काम सक्न र गुणस्तरीय काममा जोड दिन उपप्रमुख भण्डारीले निर्देशन दिनु भयो । उहाँले गुणस्तरहीन काम गर्ने र समयमै काम सम्पन्न नगर्ने निर्माण उपभोक्तालाई नगरले भुक्तानी नदिने र रोक्ने बताउनु भयो । नगरपालिकाले गुणस्तर तथा समयावधिमै काम सक्न र राम्रो काम गर्न उपभोक्ता समितिलाई निर्देशन जारी गरेको छ । नगरको सबै वडामा समान विकास गर्ने गरी योजना निर्माणको काम थालेको छ ।


प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम वेलवासेले विकास योजना निर्माण सन्तोषजनक रहेको बताउनु भयो । उहाँले केहि स्थानमा मात्र ढिलासुस्ती र निर्माणमा जनगुनासो आएको बताउनु भयो । जनगुनासो समाधान गर्न अनुगमन तिव्र पारीएको छ उहाँले भन्नु भयो ।
निर्माण तथा मर्मतमा रकम विनीयोजन गरीएको छ । विगतको जस्तो काम नगरै रकम भुक्तानी दिइदैन् वेलबासेले बताउनु भयो । एउटा योजनाको २ पटकसम्म अनुगमन गरीन्छ, उहाँको भनाइ छ । नगरबाट सडक, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य, सिचाई, पशु, कृषि लगाएतका क्षेत्रमा रकम विनीयोजन भएको नगरले जनाएको छ ।

प्रकाशित मितिः २५ पुष २०७५, बुधबार ०६:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *