बद्री पन्त
जाजरकोट १५, माघ
जाजरकोटको बारेकोट गाउँपालिका–३, मुल्सामको बारेलेकमा हिमपहिरोमा परेर ३ जना वेपत्ता भएका छन् । बारेकोट–३, मुल्सामका ३५ वर्षीय मानबहादुर रोकाय, २५ वर्षीय गोरख रोकाय र ३४ वर्षीय बिर्खबहादुर रोकाय हिमपहिरोमा परेर वेपत्ता भएका हुन् । उनीहरु विगत ८ दिनदेखि हिमपहिरोमा परेर वेपत्ता भएका हुन् ।
यस्तै हिमपहिरोमा परेर सोही ठाउँका तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुने हरुमा ५० वर्षीय नरबहादुर रावत, ४६ वर्षीय काली रावत र अर्को एकजना नाम नखुलेका व्यक्ति रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । घाइते तीनैजना बारेलेकबाट ९ दिन पछि बोल्न नसक्ने अवस्थामा घर आइपुगेको छन ।
वेपत्ता तथा घाइते भएका व्यक्तिहरु सेतो चिनी (खिरौलो) संकलन गर्ने, पकाउने, सुकाउने, प्याङ्गीक गर्ने लगायत कामको सिलसिलामा उक्त लेक तर्फ गएको अध्यक्ष शाहले जानकारी दिनु भयो । लेकबाट घाइते अवस्थामा फर्केकाहरु बोल्न नसक्ने अवस्थामा रहेकाले लेकमा के भएको थियो भन्ने यकिन हुन नसकेको हो ।
सेतो चिनी संकलनको सिलसिलामा उनीहरु गत ६ गते ४ हजार मीटरको उचाईमा रहेको बारेलेक पुगेका थिए । बारेलेकमा पुगेकै दिनदेखि भारी वर्षात तथा हिमपात शुरु भए लगत्तै उनीहरु हराएका हुन । लेकमा चिसोको कारण पाल टाँगेर बसेको अथवा ओढारमा बसेको अवस्थामा उनीहरु हिमपहिरोमा पुरिएको हुनसक्ने बताइएको छ । बारेलेकमा फोन नलाग्ने, अन्य खबर आदान प्रदान गर्ने र आवजावत गर्ने अवस्था नहुँदा वेपत्ताको उद्धार गर्न कठिनाई भएको छ । मौसम सुधार भएपछि वेपत्ताहरुको मंगलबार देखि मात्र खोजी कार्य शुरु भएको छ । हिमपहिरोमा वेपत्ता भएको बारे हालसम्म जानकारी नआएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो । हिम पहिरोमा परी वेपत्ता भएकाको खोजी र घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।