जेष्ठ नागरिकलाई घरमै भत्ता, सिरक र औंषधी उपचार

बद्री पन्त
जाजरकोट १७, माघ
कुशे गाउपालिका ५, ढिमेकी ८२ बर्षीय कमला देवी खत्री घरबाट १ घण्टा हिडेर हस्याँङ फस्याँङ गर्दै गत विहिवार थर्पु माद्यामिक विद्यालय ढिमेको प्रांगनमा पुग्नु भयो । उहाँलाई गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले ८ हजार सामाजिक सुरक्षा भत्ता रकम र न्यानो फाइवर सिरक हातमै दिनु भयो । खत्रीले पैंसा र सिरक मात्र पाउनु भएन डा.अमिन शाहले तत्काल स्वास्थ्य चेकजाँच गरी दम तथा हात खुट्टा दुख्नेको औषधी समेत दिनु भयो ।


पैंसा, सिरक, औंषधी पाएपछि खत्रीले आफ्ना लागि भगवानै आए जस्तो लागेको बताउनु भयो । खत्रीले अध्यक्ष बस्नेतलाई बाबु लाखलाख बाँचिरहनु, म जस्तै बुढाबुढीहरुको सेवा गर्नु भन्दै आर्शीबाद दिनु भयो । घरङ्गामै पुगेकी कुशे ७, नारेकी ७३ बर्षीय लिला सिंहलाई पनि अध्यक्ष बस्नेतले पैंसा, सिरक दिनु भयो ।
खत्री र सिंहने मात्र हैन, कुशे गाउँपालिकाका ८ सय जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता रकम पाए । ९७ जना जेष्ठ महिला र ६९ जना जेष्ठ पुरुषले स्वास्थ्य चेकजाँच गर्ने अबर पाए भने ५ सय २ जना जेष्ठ नागरिकले न्यानो फाईवर सिरक पाएका थिए । कुशेमा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको संख्या २ हजार छ । जेष्ठ नागरिकको संख्या ५ सय २ रहेको प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलले वताउनु भयो । कुशे १ मा जेष्ठ नागरिक ३३ जना, २ मा ५५ जना, ३ मा ३५ जना, ४ मा ५१ जना, ५ मा ७८ जना, ६ मा ४२ जना, ७ मा ५५ जना, ८ मा ८४ जना र ९ मा ६९ जना जेष्ठ नागरिकहरु रहेको उहाँहरुलाई घर दैलोमै सरकारी सेवा दिने उद्धेश्य एकिकृत घुम्ती शिवीरको आयोजना गरिएको पौडेलले वताउनु भयो ।


स्थानीयले घरदैलो नजिकमा सरकारी सेवा पाएका छन् । कुशे गाउपालिकाको आयोजनामा गत माघ १० गतेदेखि देखि १५ गतेसम्म कुशे ५ को ढीमे, ६,७, ८ र ९ को घरंगा, ४ को चौरीखेत र १,२ र ३ को टापुचौरमा संचालित एकीकृत घुम्ती शिबिरमा जेष्ठ नागरिकले उक्त सेवा पाएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । एकीकृत घुम्ती शिविरमा स्वास्थ्य उपचार, नागरिकता, पशु उपचार तथा विउविजन वितरण, न्यानो कपडा वितरण, फोटो सहितको मतदाता, गरीव परीचय पत्र वितरण लगायत सेवा प्राप्त गरेका छन् अध्यक्ष बस्नेतले भन्नु भयो ।
शिविरमा करीव ७ हजारले सेवा पाएका हुन । कुशेमा अर्कोपटक एक साताको शिविर आयोजनाका लागि प्रमुख जिल्ला अधिकारसँग परामर्श गर्ने बस्नेतको भनाइ छ । जनतालाई घर आँगनमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसंग सहयोग लिएर एकीकृत घुम्ती शिविर संचालन गरेको अध्यक्ष बस्नेतले बताउनु भयो । आगामी दिनमा प्रत्येक वडामा शिविरको आयोजना गर्ने अध्यक्ष बस्नेतले भन्नु भयो ।

प्रकाशित मितिः १७ माघ २०७५, बिहीबार ११:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *