बद्री पन्त
जाजरकोट १७, माघ ।
कुशे गाउँपालिकाले स्थानीय कृषकलाई बेमौषमे तरकारीको बिउँ वितरण गरेको छ । तरकारीको बिउँ पाएपछि स्थानीय हर्षित भएका छन् ।
गाउँपालिकाले सन्चालन गरेको एकिकृत घुम्ती शिबीरमा २ हजार ५ सय कृषकले सिमी, मुला, काउली, बन्दा, काक्रो लगाएत तरकारीको बिउँ वितरण गरेको कृषि प्राविधीक धीरेन्द्र बस्नेतले बताउनु भयो । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको गाउँपालिकाका सुन्तला खेती कृषकलाई तामा युक्त विषादी पनि वितरण गरेको बस्नेतले बताउनु भयो ।
केही समय यता सुन्तला खेतीमा ढुसी रोग देखिएको छ । यसको नियन्त्रण गर्न तामा युक्त विषादी कृषकलाई दिइएको छ बस्नेतले भन्नु भयो । कुशेमा अर्गानीक तरकारी खेतीमा जोड दिन कृषकलाई विउँ विजनका साथै कृषि प्राविधिक ज्ञान, कृषि खेती गर्ने तरीका लगाएत परामर्स सेवा दिईएको प्राविधिक बस्नेतले बताउनु भयो । तरकारी विउँ लिनलाई सदरमुकाम जानु पर्ने भनेको समयमा नपाउने गरेको भन्दै गाउँपालिकाले घर आगनमै तरकारीको विउँ उपलब्ध गराउदा तरकारी खेती गर्ने कृषकलाई धेरै राहत मिलेको कुशे ५ ढिमेकी पशुपती रोकायले बताउनु भयो ।
कुशे गाउँपालिकामा व्यवसायीक तरकारी खेती गर्ने कृषक छैनन् । सबैले सामान्य रुपमा तरकारी खेती गरेको पाइन्छ । व्यवसायीक तरकारी खेतीमा कृषकलाई आक्रशित गर्न गाउँपालिकाले कृषि पकेट कार्यक्रम अगाडि बढाएको गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताउनु भयो । गाउँपालिकाको १ देखि ९ वटै वडामा तरकारी खेती विस्तार गरी स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले काम गरी रहेको छ शाहीले भन्नु भयो । यहाँ तरकारी खेती गर्ने कृषकहरुको संख्या कम छ । फाट्फुट मात्रामा मात्र तरकारी लगाएको पाइन्छ शाहीले भन्नु भयो । कुशेमा २४ सय ८६ हेक्टर जमिन खेती योग्य रहेको छ । गाउँपालिकाले यस आवमा १८ लाख वजेट कृषि क्षेत्रमा विनियोजन गरेको छ । सुन्तला खेती विस्तार, फलफुल खेती, ओखर, मौषमी तथा बेमौषमी तरकारी विउ, मकै क्षेत्र विस्तार, कृषक पाठशाला सन्चालन, कृषकलाई कृषि प्रविधि तथा ज्ञानको विकास लगाएत कार्यक्रम सन्चानल गर्ने उपाध्यक्ष शाहीले जानकारी दिनु भयो । कुशे ५ पाँचकाटी आलु खेती र दम्दा सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिन्छ । कुशे जुम्लाको सिमानासंग जोडिएको गाउपालिका हो ।