बद्री पन्त
जाजरकोट २१, माघ ।
भेरी नगरपालिका १, पिपेमैदेका ५० बर्षिय नरबहादुर रानाले यसबर्ष मह उत्पादनबाट ३ लाख आम्दानी लिन सफल हुनु भएको छ । रानाले ४० घार मौरीबाट उक्त आम्दानी लिन सफल हुनु भएको हो ।
गत बर्षको तुलनामा ५० प्रतिशतले मह उत्पादन बढेको रानाले बताउनु भयो । गतबर्ष ३० घार मौरीबाट १ सय धार्नी मह उत्पादन गरेर १ लाख आम्दानी भएकोमा यो बर्ष २ सय धार्नी मह उतपादन भएको रानाले बताउनु भयो । रानाको घरमा ४० घार मौरी छन् । यो बर्ष ३ लाखको मह विक्र्री भयो रानाले भन्नु भयो । यो बर्ष महको सिजन राम्रो भएर मौरीले मह पनि रामै्र लगाएको थियो रानाले भन्नु भयो । ३ लाख आम्दानी भयो गतबर्षको तुलनामा दोब्बर मह उत्पादन भयो उहाँले भन्नु भयो ।
उत्पादीत मह लिन व्यापारी घरमै पुगेका थिए । रानाको मह डोल्पाका व्यापारीले १ सय ५० धार्नी लगेका छन । अरु मह सदरमुकाम खलंगामै खपत भएको रानाले बताउनु भयो । रानाले ३५ वर्ष अघि ५ घार मौरीबाट मौरी ब्यबसाय थाल्नु भएको थियो । राना व्यवसायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । मह उत्पादन बढेपछि घर ब्यबहार धान्न सहज भएको रानाको भनाइ छ । १२ जनाको परिवारको घरखर्च चलाउन सहज भएको रानाले बताउनु भयो । रानाको घरमा मुडेघार, आधुनिक घार र घरको ओछुमा गरी ४० घारमौरी छन । मौरीमा कम मेहनेत, थोरै लगानीमा मौरी व्यवसाय गर्न सजिलो रहेको रानाले बतानु भयो ।
यसबाट आम्दानी पनि धेरै हुने भएकाले मौरी व्यवसाय सजिलो व्यवसाय भएको रानाको भनाई छ । गाउँघरमा प्रति धार्नी महको १८ सय देखि २ हजार रुपैंयामा किनबेच भएपनि रानाले १५ सयमै मह विक्र्री गर्नु हुन्छ । रानाको घरमा ६० वटा बाख्रा पनि छन् । बाख्राबाट बर्षमा ८० देखि १ लाख अम्दानी हुन्छ । एउटा भैसी छ । मान्छेहरु रोजगारीको खोजिमा विदेश पलाएन भईरहेको वेला रानाले भने घरमै बसेर लाखौंको आम्दानी गर्न र आफ्नै खेतबारी मेहनत गरेर सुन फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ । रानाले अब व्यवसायीक मौरी फर्म सन्चालन गर्ने लक्ष्य रहेको बताउनु भएको छ । यसका लागि स्थानीय सरकारले पनि राना जस्तै मौरी पालक कृषकहरुलाई सहयोग प्रदान गर्न आवश्यक छ ।
बन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगाएत कारण मह उत्पादन घटेपनि यसबर्ष जाजरकोट जिल्लामा मह उत्पादन बढेको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनु भयो । गत बर्ष जाजरकोटमा २० मेट्रीक टन मह उत्पादन भएको थियो । अर्गानीक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी रहेको छ । यसपटक पानी नपरेकाले मह उत्पादन बढेको हो ।मैनपुतलीले मौरीको लार्भा र चाका खाईदिने गर्दा मौरी भाग्ने गरेको किनाको भनाइ छ ।
विगतमा प्रति किलोको ५ सय मुल्य पर्ने मह यो बर्ष ७ सय पुगेको छ । मह उत्पादनका लागि भेरी नगरपालिको पिपेमैले, नलगाड २, कलपत मौरी पकेट क्षेत्र हुन रोकायले भन्नु भयो । मौरी किसान यो बर्ष भने खुसी भएका छन् । जाजरकोटमा ५ सय घरपरिवारले व्यवशायी मौरी पालन गर्दै आएका छन् । मौरी र महको बलियो सम्भावना बोकेको जाजरकोटको अर्गानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपुर्तिमा टेवा पुग्ने प्रमुख रोकायले बताउनु भएको छ ।