बद्री पन्त
जाजरकोट १९, फागुन ।
जाजरकोटका चार सय ३४ वटा सामुदायिक विद्यालयहरु मध्य सवै भन्दा जेठो विद्यालय त्रिभुवन माध्यमिक विद्यालय खलंगाले भेरी नगरपालिका ३ थाप्लेचौरमा विशेष कार्यक्रमको आयोजना गरि ६६ औं वार्षिक उत्सव मनाएको छ । ६५ वर्ष पार गरेको अवसरमा सदरमुकाम खलंगामा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
२००९ सालमा स्थापना भएको उक्त विद्यालयले वार्षिक उत्सवका अवसरमा विद्यार्थी,अभिभावक र सरोकारवालाहरुलाइ लक्षित गरि विभिन्न सृजनात्मक तथा ज्ञानमुलक कार्यक्रमहरु सन्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाकेन्द्रविक्रम शाहको अध्यक्षता र भेरी नगरपालिकाका उपमेयर भावना भन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष कार्यक्रमका अवसरमा विद्यार्थीहरुमा रचनात्मक क्षमताको विकास गर्न खेलकुद, साहित्य तथा हाजीरीजवाफ प्रतियोगिता र सरोकारवालाहरुवाट वक्तृता दिने लगाएतका गतिविधिहरु सन्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्व वहादुर शाहले वताउनु भयो ।
वार्षिक उत्सवका अवसरमा टीकाप्रसाद भण्डारी स्मृति छात्रवृत्ति, स्वर्गिय सुवोध प्रधान छात्रवृत्ति, स्वर्गिय गंगाराम शर्मा छात्रवृत्ति वितरण गर्नुका साथै कक्षामा उत्कृृष्ट स्थान ल्याउने विद्यार्थीहरुलाइ पनि पुरस्कृत गरिएको थियो । यसै गरि वार्षिक उत्सवका अवसरमा विभिन्न कक्षाहरुमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरु, अनुशासित विद्यार्थीहरुलाइ समेत पुरस्कृत गरिएको प्रधानाध्यापक शाहले वताउनु भयो । वार्षिक उत्सवका अवसरमा फागुन १० गते देखि विभिन्न अतिरिक्त क्रियाकलापका गतिविधिहरु सन्चालन गर्नुका साथै विद्यालयका पुर्व र वर्तमान शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरु र अन्य सरोकारवालाहरुका अनुभव र सिर्जना समेटिएको वार्षिक मुखपत्र मालिका पत्रिकाको समेत विमोचन गरियो ।
विद्यालय प्रति शुभकामना दिने विभिन्न व्यक्तिहरुले जिल्लाको ठुलो र जेठो विद्यालयले आसा गरे अनुसार आफुलाइ नमुना वनाउन नसकेको गुनासो गरेका थिए । उनीहरुले विद्यालयमा परीक्षाका वेला मात्र सरोकारवालाहरुले ध्यान दिने गरेको तर विद्यालयको समग्र सुधार र विकासको लागि गम्भीर चासो र चिन्ता अनुसार काम गर्न नसकेको धारणा राखेका थिए । विद्यालय सुधारका लागि सवैले समानरुपमा जिम्मेवारी लिन र वोध गर्न जरुरी रहेको उनीहरुको भनाइ थियो । वार्षिक उत्सवका अवसरमा प्रधानाध्यापक हेरम्ववहादुर शाहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा जनक केसी, मित्रगणेश श्रेष्ठ, राप्रसाद घर्ती, अच्युतप्रसाद शर्मा, सुदिनराज वुढाथोकी, वेदराज सिंह, दिपक खनाल, राजेन्द्रविक्रम शाह, केदारवहादुर शाह, आसा कार्की, तिलक खत्री, शाकेन्द्रविक्रम शाह र भावना भन्डारी लगाएतले टिप्पणी सहित सुझाव दिदै विद्यालयको उन्नति र प्रगतिका लागि शुभकामना दिएका थिए । विक्रम सम्वत १९८४ सालमा भाषा पाठशालाको रुपमा र २००९ साल फागुन १९ गते निम्न माध्यमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय २०२३ साल देखि माध्यमिक तहमा वढुवा भएको थियो ।
यस्तै २०५२ साल देखि साविकको उच्च माध्यमिक विद्यालय अर्थात ११ र १२ कक्षाको पढाइ सुरु भएको थियो । त्यसै गरि २०६२ देखि व्यवस्थापन र २०६८ देखि विज्ञान संकायको पठनपाठन सुरु भएको थियो । विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षिका सुमी शाही सम्मानप्त हुनु भएको थियो भने अन्य शिक्षक, कर्मचारीलाईपन िविद्यालयले सम्मान गरेको थियो । २७ रोपनी जग्गामा फैलिएको यो विद्यालयमा अहिले झन्डै १ हजार छात्रछात्रा अध्ययनरत छन ।