आरनमै बित्यो जीवन

जाजरकोट — नलगाड नगरपालिका–१०, रग्दाका ६१ वर्षीय खड्गबहादुर विश्वकर्मा आरनको काम गर्छन् । उनले १५ वर्षको उमेरदेखि नै आरन व्यवसाय गरिरहेका छन् । खड्गबहादुरले रग्दामा परम्परागत आरन सञ्चालन गरेको चार दशक बितेको छ । तर उनलाई खलो उठाएर जीवन गुजारा गर्नुपर्ने बाध्यताले छाडेको छैन ।

नलगाड नगरपालिका १३, बायकाँडाका ५५ वर्षीय प्रतिलाल विक परम्परागत आरन व्यवसायबाटै सात जना परिवारको गुजाराको जोहो गर्छन् । त्यस्तै कुशे गाउँपालिका–९, थानबाडाका प्रदीप सुनारको पनि जीवन गुजाराको एउटै बाटो आरन मात्र छ ।

उनीहरू प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा धान्ने परिवारको संख्या करिब डेढसयको हाराहारीमा छ । आरन व्यवसायमा दलित समुदायको बाहुल्य रहेको छ । उनीहरू जग्गा जमिन तथा घरबासको अभावमा आरन व्यवसाय गर्न बाध्य छन् ।

गाउँगाउँमा सञ्चालन भएका आरनको प्रवर्द्धन हुन सकेको छैन । परम्परगत रूपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएबापत खलो उठाएर जीवन गुजारा चलाउने गरेको रग्दाका खड्गबहादुरले बताए ।

परिवारका एक्ला सदस्य रग्दाकाखड्गबहादुर घर जग्गाविहीन सुकुम्बासी हुन् । विश्वकर्माले रग्दा गाउँभरका स्थानीय बासिन्दा (विष्ट) का फलामका भाँडा बनाउने काम गर्छन् । उनले फलामका भाँडावर्तन बनाइदिएबापत वर्षमा पाँच पाथी अन्न मात्र खलो पाउँछन् । विष्टको घरबाट उठाएको खलोबाटै छाक टार्ने गरेको खड्गबहादुरले बताए । ‘घरबास छैन, खेती गर्ने जमिनको एक टुक्रा पनि छैन,’ उनले भने, ‘पूरै जीवन यही आरन गर्दैमा बित्यो ।’

गरिबीकाकारण परिवारिक मायामोहमा लाग्न नसकेको उनले जनाए । उनी गाउँ नजिकैकोऐलानी जग्गामा झुपडी बनाएर बसेका छन् । गर्मी सिजनमा फलाम पिट्ने कामको थकाइका कारण झुपडीमा जान नसकी आरनमै सुत्ने गरेको उनी बताउँछन् । आरन सञ्चालनका लागि अहिलेसम्म कसैकोसहयोग नपाएको उनको गुनासो छ ।

आधुनिक आरन सञ्चालन गर्ने धोको पुरा हुन नसकेको उनको भनाइ छ । उनले फाटफुट रूपमा ज्याला लिएर पनि भाँडावर्तन बनाउने गरेका छन् । उनको आरनमा किसानलाई खेतीपाती गर्न र घरव्यवहार चलाउन आवश्यक पर्ने हँसिया, कुटो, कोदालो, फरुवा, बन्चरोलगायत फलामका उपकरण बन्ने गरेका छन् ।

यहाँका गाउँपिच्छे आरन सञ्चालनमा छन् । तर उक्त आरन पेसामा संग्लग्न व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन । दैनिक गुजारा चलाउनमात्र आरन सञ्चालन गर्ने गरेको दलित समुदायको गुनासो छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको स्रोत बन्न नसक्दा दलित युवाको आकर्षण बढ्न सकेको छैन ।

आरनमा काम गर्नेको जीवन गुणस्तरीय हुन नसकेको स्थानीय नवीन रावतले बताए । पेसा, आर्थिक आम्दानी, सामाजिक व्यवहारलगायत कारणले पनि आरन व्यवसाय अपहेलित बन्नपुगेको उनी बताउँछन् । कान्तिपुरबाट
२०७५ फाल्गनु २४ गते
प्रकाशित मितिः २४ फाल्गुन २०७५, शुक्रबार १२:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *