बद्री पन्त
जाजरकोट २९, फागुन
जाजरकोट सदरमुकाम खलंगामा आइतबार देखि भएको तीन दिने निशुल्क वृहत स्वास्थ्य शिविरबाट चार हजारले उपचार सेवा पाएका छन् ।
२०७२ सालको महाभुकम्प पछि नेपाली डाक्टरहरुको पहलमा स्थापना भएको सँस्था एक एक पाइला काठमाडौंको मुख्य आयोजना तथा भेरी नगरपालिका, पहाडी क्षेत्र विकास अभियान र नेपाल रेडक्रस सोसाइटी जाजरकाटको सह आयोजनामा जाजरकोट अस्पतालमा भएको शिविरमा स्थानिय चार हजार विरामीले विशेषज्ञ सेवा पाएका हुन् ।
शिविरमा एक हजार दुई सय जनाले आँखाको परीक्षण गराएका छन भने आँखाको मोती विन्दुको अप्रेशन दुई सय ५ जनाको गरिएको छ । शिविरमा जनरल मेडिसीन, सामान्य सल्यक्रिया, नाक कान घाँटी, वालरोग, हाडजोर्नीको, रेडियोलोजी, छालारोग, स्त्रीरोग तथा दन्त रोगको विशेषज्ञ सेवा, रगत परीक्षण लगाएतका सेवा दुई हजार पाँच सय लिएको एक एक पाईलाका अध्यक्ष डा. सुमन शमशेर थापाले बताए । उनका अनुसार चार हजार बढीले विभिन्न रोगको विशेषज्ञ सेवा लिएका छन् ।
शिविरमा जाजरकोटका साथै , पश्चिम रुकुम, सल्यान र सुर्खेतका विरामीले सेवा लिएका थिए । भेरी नगरपालिका १ पिपेका ७८ बर्षिय डण्डवीर रानाले घर नजिकै निशुल्क रुपमा आँखाको अप्रेशन गर्न पाउँदा निकै खुसी ब्यक्त गरे । उनले आँखाको मोतीविन्दुको अप्रेशन गरी पुनः संसार देख्न पाएको बताए । शिविरमा महिलाको पाठेघर खस्ने समस्या, पाठेघरबाट सेतो पानी बग्ने, दम, गेस्टाइटिस लगायतका रोगका विरामी देखिएको डा.थापाले बताए ।
शिविरका लागि एकएक पाइलाको ५३ लाख, पहाडी क्षेत्र विकास अभियानको २ लाख ५० हजार, नेपाल रेडक्रस अन्तरगत सुर्खेत आँखा अस्पतालको ३ लाख ५० हजार , भेरी नगरपालिका लगायतका संस्थाको गरी कुल ६५ लाख रुपैया खर्च भएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले वताए ।
सस्थाले विभिन्न विपतमा परेका र दुर्गम वस्तीका सर्वसाधारणहरुलाइ सहयोग गर्न यस्ता शिविरहरु सन्चालन गर्ने गरेको एक एक पाइला काठमाडौंका महासचिव प्रभाकर थापाले जानकारी दिए । शिविरमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिका विरामीहरुलाइ काठमाडौं रिफर गरिएको र उनीहरुको निशुल्क उपचार महासचिब थापाले बताए ।