बद्री पन्त
जाजरकोट २९, फागुन
जाजरकोटको बारेकोट गाँउपालिका ४ गोठगाँउकी ७२ बर्षीय धनसरी सिंह नेपाली नागरिकताको प्रमाण पत्र लिन हस्या“ङ फस्या“ङ गर्दै बुधबार गाउँपालिका केन्द्र लिम्सा पुगीन् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले नागरिकता प्रदान गर्नु भएको हो ।
जीवनको उत्तरार्धमा ७२ बर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा आफु निकै खुसी भएको धनसरीले बताइन । सदरमुकाम जान तीन दिन हिड्नु पर्ने बाध्यता, आफै हिडेर जान नसक्ने, सदरमुकाम लगिदिने मान्छे नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले बनाउन नपाएको सिंहले बताइन । समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्न बाट समेत बञ्चित हुनु परेको उनले गुनासो सुनाईन ।
दुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधीबाट शिविरमा नागरिकता वितरण गरिएको खतिवडाले बताउनु भयो । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संचालित घुम्ती शिविरमा पहिलो दिन १ सय ५० जनाले नागरिकता, १ सय ४५ जनाले फोटो सहितको मतदाता नामावली, ११ जनाले अपाङ्गता परिचय पत्र, ११ घरेलु उद्योग दर्ता लगाएतका सेवा प्रवाह भैरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । स्थानीयले घरदैलो नजिक सरकारी सेवा पाएपछि हर्षित छन् ।
त्यस्तै बारेकोट ४ करुकाकी तीन दिनकी सुत्केरी १८ बर्षिय देविका बस्नेतले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन । घर नजिकै नागरिकता वितरण गर्ने टोली आएको जानकारी पाएपछि तीन दिनको छोरा काखी च्यापेर नागरिकता लिन आएको बस्नेतले बताएन । उनले भनिन ‘घण्टौ हिडेर सदरमुकाम गएर नागरिकता लिनु पर्ने झन्झट हटेको र घरआगनमै सरकारी सेवा पाउदा निकै खुसी छु उनले बताइन ।
त्यस्तै, बारेकोट ४ जिरीकी ६९ बर्षिय अविवाहित महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुसी भएको बताइन । माईतीमै एकल जीवन विताउँदै आएकी उनले समयमा नागरिकता नबनाउँदा लामो समय देखी सामाजिक सुरक्षा भत्ता समेत पाउनबाट समेत बञ्चित हुनु परेको सुनाइन ।
पहिलो पटक नेपाली नागरिकताको प्रमाण पाएपछि उनले आफ्नो बषौं देखीको अधुरो धोको पुरा भएको बताएकी छन । दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली, अपाङ्गता परिचय पत्र वितरण, घरेलु उद्योग दर्ता लगाएतका सेवा प्रवाह भैरहेकोे अध्यक्ष शाहले बताउनु भयो ।