बद्री पन्त
जाजरकोट १, चैत
जाजरकोटको बारेकोटका अधिकांस महिलाहरुमा पाठेघर खस्ने समस्या रहेको पाईएको छ ।बारेकोट स्वास्थ्य तथा सरसफाई उपशाखाको आयोजनामा भएको अब्टेट्रिक फिस्टुला र पाठेघर खस्ने महिलाको स्क्रिनिङ्ग शिविरमा यस्तो तथ्य फेला परेको हो ।
परीक्षण गर्न आएका ९९ जना महिला मध्य पाठेघर खसेका १५ जना महिलाले रिङ्ग प्रेसरी राखेका छन् । तीन जना महिलाको भने पाठेघरको शल्यक्रिया नै गर्नु पर्ने बारेकोट स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख वीरराज सिंहले बताउनु भयो । ति मध्य पहिलो डिग्री खसेका ९ जना , दोस्रो डिग्री खसेका १० जना , तेस्रो डिग्री खसेका ३ जना र सेतो पानी बग्ने ६४ जना रहेको सिंहले बताउनु भयो । त्यस्तै १६ जनामा क्यास्टोसेल तथा ३ जनामा पोलिपिस देखिएको छ ।
उमेर नपुग्दै विहे गर्नु, गर्भवति तथा सुत्केरी भएको बेला गह्रौ भारी बोक्नु र उचाल्नु, सरसफाईमा ध्यान नदिनु, कुपोषण लगायतका कारणले पाठेघर खस्ने समस्या देखिने गरेको हो । गरीवी तथा जनचेतनाको अभावले बारेकोटका धेरै महिलामा पाठेघर खस्ने समस्या छ । लाज र डरका कारण धेरै लामो समय सम्म रोग लुकाएर बसेको कारण समस्या जटिल बन्दै गएको हो । घरका अरु मानिसले पनि उपचारको साटो विभिन्न लान्छना लगाउने गरेको हुदा महिला रोग लुकाउन बाध्य भएका बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । पाठेघर खस्ने समस्या स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्याको रुपमा देखिन थालेको उपाध्यक्ष शाहीको भनाइ छ ।