बद्री पन्त
जाजरकोट १, चैत
जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ति शिविरमा दुई दिनमै चार सयले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । आफ्नै घर नजिकै नागरिकता लिन पाउँदा स्थानिय दंग परेका छन् ।
दुई दिन पैदल हिडेर सदरमुकाम पुगेर नागरिकता बनाउनु पर्ने बारेकोटवासीको बाध्यतालाई मध्यनजर गरी गाँउपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले गत बुधवार देखि बारेकोटमा संचालन गरेको नागरिकता वितरण लगायतका सेवाबाट स्थानिय लाभान्वित भएका हुन् ।
दुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधीबाट शिविरमा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताउनु भयो । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संचालित घुम्ती शिविरमा दुई दिनमा चार सय जनाले नागरिकता, चार सय जनाले फोटो सहितको मतदाता नामावली, १५ जनाले अपाङ्गता परिचय पत्र, १८ घरेलु उद्योग दर्ता लगाएतका सेवा प्रवाह भैरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ ।
एक सातासम्म संचालन हुने शिविरमा नागरिकता लिनेको निकै भिड रहेको अध्यक्ष शाहको भनाई छ । शिविरमा सुत्केरी महिला, बृदबृद्धा, शारीरिक रुपमा अशक्त लगायतले सेवा लिन पाँउदा खुसी भएका छन् । बारेकोट ३ की २५ बर्षिय कमला रावतले घर नजिकै फोटो सहितको मतदाता नामावली र नेपाली नागरिकताको प्रमाण पाउँदा निकै खुसी लागेको बताउनु भएको छ ।