जाजरकोट, २० चैत्र ।
जाजरकोटको दुर्गम गाउँ लहँका किसानलाई पहिलो पटक क्षमता अभिबृद्धि सम्वन्धी तीन दिने तालिम दिइएको छ । कृषि ज्ञान केन्द्र जाजरकोट र नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँले गरेको तालिममा व्यवसायिक मह उत्पादन प्रशोधन विधि र सहकारी सम्वन्धी जानकारी दिइएको थियो ।
तालिमको उद्घाटन गदै नलगाड नगरपालिका वडा न ४ का वडाध्यक्ष लक्ष्मीबहादुर रावलले तालिमले किसानको व्यवसायिक सोचमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले तालिमले किसानलाई व्यवसायिक मह उत्पादनका साथै सहकारी संचालनमा सघाउने उल्लेख गरे ।
यस्तै लहँका पूर्वगाविस अध्यक्ष टोप पन्त, समाजसेवी भक्तबहादुर रावल, भानुभक्त माध्यामिक विद्यालयका शिक्षक भक्तबहादुर ओली, पत्रकार प्रकाश पन्त,शिक्षक चन्द्रबहादुर रावल, किसान मकरबहादुर रावललगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिममा प्रशिक्षण तथा सहजीकरण बरिष्ठ कृषि अधिकृत रोकाय, कृष्ण पाण्डे, अमरबहादुर तारमी, राजु केसी, प्रतिक्षा बुढा, लोकेन्द्र रावललगायतले व्यवसायिक मह उत्पादन प्रशोधन विधि तथा सहकारी सम्वन्धी तालिम दिएका थिए ।
सहकारीका अध्यक्ष महेन्द्रबहादुर रावलको सभापतित्वमा भएको तालिममा १ सय १६ जना किसानको सहभागीता रहेको सहकारीका सचिव गोविन्द ओलीले बताए ।
स्थापना भएको छोटो समयमै नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाले आफुहरुलाई बाख्रापालन, मौरीपालन, मह उत्पादन तथा प्रशोधनलगायतका आयस्तर बृद्धि गर्ने काममा सहयोग गरेको भन्दै लहँका किसानले सहकारीको प्रशंसा गरेका छन् ।