बद्री पन्त
जाजरकोट, २३ चैत्र ।
जाजरकोटको दुर्गम गाउँ कैनामा पहिलो पटक विदेशी पर्यटक पुग्दा गाउँलेले भव्य स्वागत गरेका छन् । गाउँले न्यानो माया र सत्कार दिएपछि पर्यटक खुशी भएका थिए ।
सदरमुकाम खलंगा पुग्न वित्तिकै प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई खादा ओढाएर स्वागत गरेका थिए ।
जिल्लामा यति धेरै पर्यटक आउनु खुशीको कुरा हो उनले भने, पर्यटकले जाजरकोटलाई चिनाउन सहयोग गर्नेछन् । भेरी ज्ञानोदय क्याम्पस, जिल्ला अस्पतालको पनि उनीहरुले अवलोकन गरेका थिए ।
उनीहरुलाई क्याम्पस प्रमुख चन्द्रबहादुर बुढा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतलगायतले स्वागत गरेका थिए । यस्तै कालेगाउँबासीले शिवालय मन्दिर र डाडाँगाउँबासीले छेप्कामा फुलमाला र खादा लगाएर पर्यटकलाई स्वागत गरे ।
पहिलो पटक आफ्नो गाउँमा आएका पर्यटकलाई नलगाडबासीले भव्य स्वागत गरेका थिए । नलगाड नगरपालिका–३, कैनामा विदेशी पर्यटक पुग्दा गाउँलेले बाजागाजासहित फुलमाला, खादा र अविर लगाएर भव्य स्वागत गरेका थिए ।
पहिलो पटक आफ्नो गाउँमा आएका अमेरिका, बेलायत लगायतका देशका पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको गाउँलेहरुले बताए ।
गाउँलेको माया, स्वच्छ वातावरण र परम्परागत कला संस्कृतिले आफुहरुको मन लोभ्याएको पर्यटकले बताए । सुन्दर दृश्यहरु क्यामरामा कैद गर्दै पर्यटकहरुले भने, समयले साथ दियो भने हामी हरेक वर्ष यो गाउँमा आउँछौ ।
कैनामा पर्यटक पुग्दा टट्टा, चामलेचौर, करुवा र कट्केका आमा समुह तथा युवाहरुले पैंसेरी, सरंगी, राइझुमा लगायतका स्थानीय नाँच देखाएका थिए ।
पहिलो पटक नेपाल आएका पर्यटकले जाजरकोटको भ्रमण अविस्मरणीय भएको उल्लेख गरे । विदेशी पर्यटकले आफ्नो गाउँ ठाउँको संसारभरी प्रचार प्रसार गर्ने र थप पर्यटक आउने आशा गाउँलेले गरेका छन् । स्थानीय आयोजक मध्यका एक गोरखबहादुर पुनले भने, यसबाट पर्यटन प्रर्वद्धनमा ठुलो टेवा पुग्ने विश्वास गाउँलेले लिएका छन् ।
बाजा गाजासहित भव्य स्वागत, स्थानीय खाना, परम्परागत कलाको प्रर्दशनीले पर्यटकलाई निकै आर्कषित गरेको पर्यटन व्यवसायी विशु सिजालीले बताए । आउने दिनमा टट्टालाई होम स्टेको रुपमा विकास गरी कैनालाई आधार बनाएर देशका अरु गाउँमा पर्यटकलाई घुमाउने उनले बताए ।
बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहलमा कैना आएका पर्यटकले नलगाड नगरपालिकामा रहेका २१ वटा विद्यालयलाई पानी शुद्ध गर्ने उपकरण सहयोग गरेका छन् ।
कैना आएका पर्यटकले साढे १० लाख रुपैयाको उपकरण विद्यालयलाई दिएको पर्यटक व्यवसायी विशु सिजालीले बताए । यसअघि नलगाडका ६ वटा विद्यालयलाई पनि उक्त उपकरण दिइएको थियो । उपकरण पाएपछि विद्यार्थीलाई शुद्ध पानी खुवाउन सजिलो हुने शिक्षक रुद्र शाहीले बताए ।