क्लोरिन मेसिनको प्रयोगपछि शुद्ध पानी पिउदै विद्यार्थी

जाजरकोट, ८ असार ।
जाजरकोटको नलगाड नगरपालिकाका धेरैजसो विद्यालयले पानी शुद्ध गर्ने क्लोरिन मेकर मेसिन प्रयोग गरिरहेको जनाएका छन् ।
बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहल र अगुवाईमा पर्यटन विद् विशु सिजालीले नलगाड नगरपालिकाका ४७ वटा विद्यालयलाई उक्त मेसिनहरु निशुल्क प्रदान गरेका थिए ।

क्लोरिन हालेको शुद्ध पानी पिउदै नलगाडका विद्यार्थी
नलगाड नगरपालिका –३, कैनामा विदेशी पर्यटक आएको बेला विशेष कार्यक्रमको आयोजना गरी उक्त मेसिनहरु विद्यालयलाई प्रदान गरिएको थियो ।
क्लोरिन मेकर मेसिनको नियमित प्रयोगसगै पानीजन्य रोगमा पनि कमी आउन थालेको विद्यालयहरुले दावी गरेका छन् ।
तीन महिना अघि दिइएका उक्त मेसिनहरु बिजुली बत्ति र सोलारको सुविधा भएका विद्यालयले नियमित रुपमा प्रयोग गरिरहेको जनाएका छन् ।
बत्ति र सोलार सुविधा नभएका कतिपय विद्यालयले मेसिन संचालनकै लागि सोलार किनेको र केहीले किन्ने तयारीमा रहेको बताएका छन्।

खानेपानी तथा सरसफाई राष्टिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष कुलमणी देवकोटाले नलगाड नगरपालिकाका प्रमुख तथा भानुभक्त माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रावललाई क्लोरिन मेकर मेसिन हस्तान्तरण गरेपछि नगलगाड नगरपालिकाभरी मेसिन प्रदान कार्यक्रम शुरुवात भएको थियो ।


नियमित प्रयोग गदै नलगाडका विद्यालय
गणेश आधारभूत विद्यालय लविसाका प्रधानाध्यापक रुद्रबहादुर शाहीले मेसिन प्रयोग गर्न थालेपछि विद्यार्थीहरु पानीजन्य रोगबाट विरामी नभएको बताए ।
क्लोरिन राखेको पानीको स्वाद सामान्य पानीको भन्दा केही फरक हुन्छ, उनले भने, त्यसैले सुरुसुरुमा क्लोरिन राखेको पानी पिउन केही विद्यार्थीले गाह्रो मानेपनि अहिले बानी परिसकेका छन् ।
निर्मल ज्योति निम्न माध्यामिक विद्यालय थाप्लाका प्रधानाध्यापक भीमबहादुर ओलीले क्लोरिन मेकर मेसिनको नियमित प्रयोग गरिरहेको बताए ।
दुर्गम गाउँका विद्यालयमा पढने बालबालिका पानीजन्य रोगको कारण विरामी पर्ने भएकोेले यो मेसिन अरु विद्यालयलाई पनि प्रदान गर्न माग गरे ।
विद्यालयमा मेसिनको माग बढ्दो
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ऐरारीका प्रधानाध्यापक गणेशबहादुर शाहीले क्लोरिन मेकर मेसिन पाएपछि त्यसलाई संचालन गर्नको लागि सोलार किनेको बताए ।
सोलार किन्ने योजनै थिएन, उनले भने, मेसिन पाएपछि त्यसलाई प्रयोग गर्नको लागि विद्यालयले भर्खरै सोलार किनेको छ ।
पञ्चभयार माध्यामिक विद्यालय जिकुकाका प्रधानाध्यापक होमप्रकाश सिंहले क्लोरिन मेकर मेसिन धेरै उपयोगी भएकोले यसलाई सवै ठाउँका विद्यालयलाई उपलव्ध गराउनु पर्ने बताए ।
पानीजन्य रोगका कारण बर्षेनी पीडित हुदै आएका कर्णाली प्रदेशका दुर्गम गाउँ बस्तीका बासिन्दाका लागि यसले निकै फाइदा पुर्याउने समेत उल्लेख गरे ।


के हो क्लोरिन मेकर मेसिन ?
क्लोरिन मेकर मेसिन पानी शुद्ध गर्ने एउटा उपकरण हो । यो मेसिनले बनाएको क्लोरिनले पिउसको काम गर्छ । पानी शुद्ध गर्नको लागि हामीले सधै पिउस किनेर खान सक्दैनौं त्यसैले यो मेसिनले घरेलु विद्यीबाटै पिउस बनाउने भएकोले प्रयोग गर्न सजिलो हुन्छ ।
क्लोरिन बनाउने घरेलु विधी
सर्वप्रथम हामीले खाने ५० ग्राम आयोडिन नुनलाई आधा लिटर पानीमा राखेर उमाल्ने । ५ मिनेट जति उमालेपछि क्लोरिन वन्छ । क्लोरिन बनिसकेपछि मेसिन अटोमेटिक रुपमा बन्द हुन्छ । एक पटकमा एउटा मेसिनले २ सय जना विद्यार्थीलाई पिउन पुग्ने २ सय लिटर पानीलाई शुद्ध गर्ने क्लोरिन बनाउँछ । एक पटक बनाएको क्लोरिनलाई २४ घण्टाभित्र प्रयोग गरिसक्नु पर्छ यदि २४ घण्टाभित्र गरिएन भने त्यसको असर कम हुदै जान्छ ।
मेसिनमा के के हुन्छ ?
एउटा बक्स भित्र,
पानी उमाल्ने मेसिन
पानी र नुनको मात्रा मिलाएर राख्ने वोतल
क्लोरिन बनेपछि राख्ने बोतल
क्लोरिनको मात्रा मिलाएर पानीमा राख्ने प्लाष्टिकको चम्चा
५० ग्राम नुनको प्याकेट
के बाट चल्छ ?
विजुली बत्ति
१२ भोल्टको सोलार
मोटर साइकल र स्कुटीको व्याट्री
पानीको प्रयोग कसरी गर्ने ?
एक चम्चा क्लोरिन २० लिटर पानीमा राखेर पिउने
क्लोरिन हालेको आधा घण्टापछि मात्र पानी पिउने
क्लोरिन हालेको पानी व्याक्टेरिया मुक्त
जाजरकोट सवै विद्यालयलाई दिन्छौ –पर्यटन विद् सिजाली
क्लोरिन हालेको पानीको स्वाद सामान्य पानीको स्वाद भन्दा केही फरक हुन्छ ।
क्लोरिन हालेको पानी पहिलो पटक खादा केही कठिन हुन्छ पर्यटन विद् विशु सिजालीले भने, पिउस हालेको पानी खाएको जस्तै हुन्छ तर विस्तारै विस्तारै वानी परिन्छ ।
स्वाद फरक पाउन वित्तिकै क्लोरिन हालेको पानी खान छोडनु हुदैन, किनकी यसले पानीमा भएका व्याक्ट्रेरियालाई नष्ट गरेर पानीलाई शुद्ध बनाउँछ । व्याक्ट्रेरिया नष्ट भएको शुद्ध पानी पिउदा हामीलाई कहिल्यै पानीजन्य रोग लाग्दैन् ।
प्रोजेक्ट जाजरकोट संचालन गरिरहेका सिजालीले जाजरकोटका ४ सय ३३ वटै विद्यालयलाई क्लोरिन मेकर मेसिन उपलव्ध गराउने बताएका छन् ।

प्रकाशित मितिः ८ असार २०७६, आईतवार ०९:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *