जाजरकोट, १० असार ।
जाजरकोटको नलगाड नगरपालिका २ डाडाँगाउँको छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ । कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहको पहलमा मह प्रशोधन केन्द्र स्थाना भएको हो ।
प्रदेश सरकारेको ५० लाख रुपैयाको सहयोगमा प्रशोधन केन्द्र बन्न लागेको हो ।सिंह जाजरकोट क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा विकासका थुप्रै योजनाहरु अघि बढाएको उनले बताए ।
त्यसमध्ये २५ लाख रुपैयाको लागतमा ७ कोटे भवन र २५ लाख रुपैयाका मह प्रशोधन मेसिनहरु खरिद गरिने छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
जाजरकोटकै सवैभन्दा बढी मह उत्पादन हुने पाली, कल्पत, चिउरी, डाडाँगाउँ र लहँका किसानलाई लक्षित गरी प्रशोधन केन्द्र स्थापनाको लागि पहल गरेको प्रदेश सभा सदस्य सिंहले बताए ।
किसानले उत्पादन गर्ने आर्गनिक महलाई प्रशोधन र प्याकेजिङ्ग गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा विक्री गरी उनीहरुको आयस्तर बृद्धि गर्न प्रशोधन केन्द्र स्थापनाको लागि पहल गरेको उनले बताए ।
छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएपछि आफुहरु निकै उत्साहित भएको किसानहरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले मह प्रशोधन केन्द्रबाट किसानले ठुलो लाभ लिन सक्ने बताए ।