बद्री पन्त
जाजरकोट २७, असार
नलगाड नगरपालिका ५, सिर्केकी ४८ बर्षिया इश्वरा शाहीको आधा जीवन घराएसी कामकाज गरेरै वित्यो । घरमा २ वटा भैसी र एक हल गोरुलाई घाँस काट्ने गोवर सोर्नु शाहीको दैनिकी नै थियो ।
सोही ठाउँकी गिता सिंहको पनि समय यसैगरी वितेको थियो । शाही र सिंह त केहि प्रतिनिधी उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै जिल्जाका अन्य महिलाहरुको पनि समय घरको कामधन्दा गरेरै वित्ने गरेको थियो । इश्वरा शाही घरमा कृषि टेलिभिजन हेरेर टिभीमा देखेको तरकारी खेती कार्यक्रमबाट प्रभावित भएपछि तरकारी खेती गर्न थालेको बताउनु हुन्छ ।
शाहीले २ रोपनी जमिनमा व्यमौषमी तरकारी खेती गर्नु भएको छ । बारीको टमाटर , काउली, सिमी, काक्रा लगाएत जातका व्यमौषमी तरकारी विक्रीबाट ४० हजार आम्दानी गर्न सफल भएको शाहीले बताउनु भयो । अहिले शाहीको बारीमा लटरम्म टमाटर फलेको छ ।
शाहीको अध्यक्षतामा २१ जना महिलाहरु मिलेर सोमी स्वरा फलफुल तथा कृषक समुह गठन गरेका छन् । नगरपालिका कृषि उप शाखाबाट उक्त समुहले १ लाख ५० हजार अनुदान रकम पाएको छ । अनुदानसंगै विउँविजन, कृषि औजार लगाएत प्राविधीक सहयोग पाएपछि शाही जस्तै सवै महिलाहरु यसैगरी तरकारी खेतीमा अग्रसर भएका छन् ।
थोरै लगानी गरेर मनग्य आमदानी हुने भएपछि मकै लगाउँने खेतबारीमा आलु, सिमी, काउली, बन्दा, काक्रा, टमाटर लगाएको बताउनु नलगाड ५, सिर्केकी बसन्ता शाही । तरकारी खेतीबाट एक सिजनमा २० हजार देखि ५० हजारसम्म आम्दानी हुने गरेको शाहीले बताउनु भयो । पहिले तरकारी खेती गर्नु पर्छ भन्ने कतैबाट जानकारी भएन, घरमा खानालाई मात्र मुला र भाजी साग लगाउने चलन हुन्थ्यो, अहिले नगरपालिका भएपछि विउँविजन पाइने तथा कृषि खेतीको ज्ञान सिकेपछि हामी महिलाहरु तरकारी खेतीमा लागेको शाहीको भनाइ छ ।
सिर्केमा उत्पादन भएको तरकारी नजिकैको सिर्के बजार, सेपुखोला बजार, लैखम, खारा लगाएतको स्थानीय बजार क्षेत्रमा खपत हुने गरेको शाहीको भनाइ छ ।
नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले नगर क्षेत्रका १ देखि १३ वटै वडामा महिला लक्षित कार्यक्रम सन्चालन गरेको बताउनु भयो । महिलाहरुलाई विभिन्न आय मुलक काममा सहभागिता जनाउन तथा आत्मा निर्भर बनाउन आफु लागि परेको बताउनु भएको छ ।
३ नगरपालिका र ४ गाउँपालिका रहेको जाजरकोट जिल्लाका स्थानीय तहहरुले महिलाहरुलाई आत्मा निर्भर बनाउने गरी काम गर्दै आएका छन् । घरको चुलोचौकोमा मात्र सिमित रहदै आएका जाजरकोटका महिलाहरु पछिल्लो समय स्थानीय सरकारको सहयोग पाएपछि आत्मा निर्भरताको बाटो तर्फ अग्रसर भएको पाइएको छ । यहाँका महिलाहरु विभिन्न समुहमा आब्द भएर अगाडि बडेको देखिन्छ ।