बद्री पन्त
जाजरकोट २७, असार
कृषि विकास उप शाखा बारेकोट ४ सय कृषकलाई फलफुलका विरुवा वितरण गरेको छ । फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले विभिन्न जातका वर्षे फलफुलका ६ हजार ६ सय २२ विरुवा वितरण गरेको कृषि विकास उप शाखा बारेकोटका प्रमुख डम्बर श्रेत्रीले बताउनु भयो ।
गाउँपालिका क्षेत्रलाई फलफुल पकेट खेतीका रुपमा विकास गर्नका लागि फलफूलका बिरुवा वितरण गरेको हो । कृषकलाई टिमुर २ हजार ३ सय २२, अलैची २ हजार १ सय र दाते ओखर १ हजार २ सय वितरण गरेको श्रेत्रीले बताउनु भयो ।
जिल्लाका ७ स्थानीय तहमा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ । जिल्लाको तल्लो भाग छेडाचौर देखि खगेनकोको दल्लीसम्ममा आप र लिच्ची, केरा, अनार, विचको भागमा कागती, सुन्तला, माथल्लो भागमा ओखर किवी, स्याउ खेतीको राम्रो सम्भावना रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ । पछिल्लो समय बारेकोटका कृषक फलफुल खेती तर्फ आक्र्रसित हुदै गएको शाहको भनाई छ ।