जाजरकोटका किसानको नर्सरीबाटै लाखौं आम्दानी

बद्री पन्त
जाजरकोट २८, असार
दश वर्ष अघिसम्म बारीका सुन्तलाका बेर्ना डोकोमा बोकेर बेच्न कुशे गाउँपालिका ५, दम्दालाका ६० बर्षिय शक्तीबहादुर वलीलाई निकै सास्ती हुने गरेको थियो । डोकोमा बोकेर गाउँघरमा डुलाएर बेर्ना बेचेर जीविकोपार्जन गर्नेु बाध्यता वलीको थियो । अहिले जीवनस्तर सुधार भएको छ वलीको । गाउँकै शिव मल्ल पनि सुरुमा उत्पादन गरेका बिरुवाले बजार नपाउँदा समस्यामा हुनु हुन्थ्यो । दुई वर्षयता उनीहरूलाई आफ्नो नर्सरीमा उत्पादन गरेका बेर्ना बिक्री गर्न कुनै समस्या छैन ।
कार्यालाय, संस्था र किसानले नर्सरीबाटै बेर्ना किन्न थालेपछि उनीहरूको व्यवसाय पनि फस्टाएको छ । अहिले कुशेका अधिकांश घरमा साना ठुला नर्सरी स्थापना गरिएका छन । बजारको समस्या नभएपछि गाउँले नै नर्सरीबाट आत्मनिर्भर बन्ने बाटो खोजि रहेका छन ।
गत वर्ष मल्लले बेर्ना बिक्रीबाट २ लाख र ओलीले १ लाख रुपैयाँ आम्दानी गर्नु भएको थियो । ओलीले यस वर्ष २ लाख रुपैयाँको बिरुवा बिक्री गरेको बताउनु भयो । भने मल्लले यसबर्ष ७ लाख रुपैयाँको बिरुवा बिक्री गरेको जानकारी दिनु भयो ।
त्यसैगरी नलगाड नगरपालिका ४ खाल्चौरका केशबबहादुर रावलले पनि गतबर्ष २ लाख रुपैंयाको रुपैयाँको बिरुवा बिक्री गरेका थिए भने यसबर्ष ५ लाख रुपैयाँको बिरुवा बिक्री गरेको बताउनु भएको छ । रावलको नर्सरीमा टिमुर, कागती, सुन्तला, ओखर, किवी, चिउरी, बकाइनो, काउलो लगाएत १५ प्रकारका विभिन्न जातका विरुवा उत्पादन भएका छन् । स्थानीयले उत्पादन गरेका फलफूल र अन्य बिरुवा पश्चिम रुकुम र जिल्लाका स्थानीय तहमै खपत भइरहेको छ ।


गाउँका किसानले कागती र सुन्तलालगायत फलफूलका बेर्ना नर्सरी मार्फत उत्पादन गरिरहेका छन । गत वर्ष ३ लाख ५० हजार रुपैयाँ कमाइ गरेका नलगाड ६, थाप्लाका किसान पूर्णबहादुर खड्काले बर्सेनी नर्सरीको क्षेत्रफल बढाउँदै लगेको जानकारी दिनु भयो । खड्काले विशेषगरी सुन्तला र कागती, अलैची, टिमुर लगाएतका बेर्ना उत्पादन गरेका जनाकारी दिनु भयो । नलगाड नगरपालिका क्षेत्रमा ६० घरपरिवारले नर्सरी स्थापना गरेका छन ।    उनीहरूले वर्षमा ६० देखि ८० लाख रुपैंयाको फलफूलका बिरुवा उत्पादन गर्ने गरेका छन ।
स्थानीयका अनुसार नर्सरीबाट प्रतिपरिवार वार्षिक १ लाख देखि १० लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । प्रतिबेर्ना ५० देखि एक सय रुपैयाँमा नर्सरीबाटै बिक्री हुँदै आएको किसान केशवबहादुर रावलले बताउनु भयो ।   रावलले १० रोपनी जग्गामा नर्सरी बनाउनु भएको छ ।
सुन्तला र कागतीको बेर्ना जिल्ला बाहिर जान थालेपछि किसानको जीवनस्तर समेत उकासिएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनु भयो । विगत वर्षमा भारतका विभिन्न स्थानमा मजदुरीका लागि जाने किसानले अहिले गाउँमै रोजगारी पाइरहेका रोकायले बताउनु भयो ।
सुन्तला र कागतीका बेर्नाबाट जाजरकोटका १ सय घरपरिवारले राम्रो आम्दानी गरिरहेको अगुवा किसान शक्तीबहादुर ओलीले जानकारी दिनु भयो । ओलीका अनुसार कुशे गाउँपालिकामा झन्डै २ सय रोपनी जग्गामा नर्सरी स्थापना गरिएको छ ।
सुन्तला लगाएत फलफुल उत्पादनका लागि पकेट मानिने जाकोरकोट १ सय बढी किसानले नर्सरी दर्ता गरेर बेर्ना लगाउँदै आएको कृषि ज्ञान केन्द्र जाजरकाटले जनाएको छ । जिल्ला भर नर्सरीबाट स्थानीयले २ करोड बढी रुपैया आम्दानी गर्ने गरेका छन् ।
सामुहिक नर्सरी
कुशे गाउँपालिका ५, पाँचकाटीयाका पृर्थीबहादुर खत्री, पूर्णबहादुर सिंह लगाएत ५ जना मिलेर कुशे जलजला बहुउदेश्य फलफुल नर्सरी फार्म दर्ता गरेर विरुवा उत्पादन गालेका छन् । ५ जनाले २ लाख ५० हजार व्यक्तिगत लगानी गरेर ५ रोपनी जमीनमा नर्सरी सच्चालन गरेका छन् ।
उनीहरुले नर्सरी सच्चालन गरेको २ बर्ष भएको छ । नर्सरी अहिले कागती २५ हजार, टिमुर २३ हजार, ओखर २५ हजार र ध्यार सल्लो २ हजार गरी ७५ हजार विरुवा उत्पादन गरेको नर्सरी सन्चालक पृर्थीबहादुर खत्रीले बताउनु भयो । यो बर्ष विरुवा उत्पादन हुन्छ, अर्को बर्ष विरुवा विक्री हुन्छ, खत्रीको भनाइ छ ।
उक्त नर्सरीलाई व्यवसायी तथा सिचाई सुविधाको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनले १ लाखको लागतमा पलाष्टिक पोखरी निर्माण गरि दिएको छ । नर्सरीलाई व्यवसायी वनाएर अगाडि बड्ने नर्सरी सन्चालक खत्रीले जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार २१:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *