बद्री पन्त
जाजरकोट २९, असार
जाजरकोटको बारेकोट गाउँपालिकाको आर्थिक सहयोगमा २ वटा विद्यालय भवन निर्माण भएका छन् । विद्यालयको भवन निर्माण भएपछि बालवालिकाहरुलाई पठनपाठनमा सहज हुने भएको हो ।
बारेकोट २, को रोकायगाउँको हिम ज्योती प्राथामिक विद्यालयको ४ कोठे भवन र जन ज्योती प्राथामिक विद्यालय भैसीमारेमा २ कोठे भवन निर्माण भएका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
४ कोठे भवनमा १८ लाख र जन श्रमदान ५ लाख गरी २३ लाख र २ कोठे भवनमा ७ लाख ५० हजार र जन श्रमदान १ लाख ५० हजार गरी ९ लाख लागतमा भवन निर्माण भएको अध्यक्ष शाहले बताउनु भयो । ती विद्यालयमा भवन अभाव हुदा बालवालिकालाई पठनपाठनमा समस्या थियो ।
आगामी बर्ष विद्यालयको घेराबार निर्माणमा वजेट व्यवस्था गर्ने पनि शाहको भनाई छ । शैक्षिक सुधारका लागि गाउँपालिकाबाट कुनै पनि कसर वाँकी नराख्ने अध्यक्ष शाहको भनाई छ । गाउँपालिका भित्र रहेका विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँपालिकाबाट विशेष पहल थालिएको छ, अध्यक्ष शाहले भन्नु भयो ।
अर्को बर्ष बारेकोटका सबै विद्यालयमा फनिचर व्यवस्थापन गर्ने, घेरावार, भवनमा रङरोगन लगाएत काम गरेर आमुल शैक्षिक गर्ने अध्यक्ष शाहले भन्नु भयो । यसैगरी शिक्षा विकास समन्वय इकाइ जाजरकोटबाट हरिहर आधारभुत विद्यालय बारेकोट ७, सुवाकोट र ५ को इन्द्र ज्योती प्राथामिक विद्यालय करुकागाउँमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।