बद्री पन्त
जाजरकोट ३, चैत
जाजरकोटको भेरी नगरपालिका ७ पुन्मा स्थित सरस्वती माध्यमिक विद्यालयको २५ जना विद्यार्थी एकाएक विरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले बताउनु भएको छ । विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेको छ । ७ जनामा सिकिस्त विरामी छन् । उनीहरुमा ज्वरो समेत देखिएको छ । अन्यलाई सामान्य खालको रुघाखोकी छ । बार्षिक परीक्षा दिने क्रममा सोमवार ति विद्यार्थी विरामी परेका हुन् । कतिपय विद्यार्थी शनिवार देखि नै विरामी भएपनि बार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भैरहेका छन । केही विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले एक स्वास्थ्यकर्मीको टोली औषधी सहित विद्यालयमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताउनु भएको छ । त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागि स्वास्थ्यकर्मीको टोली पठाएका छौ घर्तीले भन्नु भयो । अवस्था हेरेर आवश्यक उपचारको ब्यवस्था मिलाउँछौ । विद्यालय सदरमुकाम खलंगाबाट सो विद्यालय पुग्न तीन घण्टाको समय लाग्छ ।
जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.अमिन शाहले पुन्मामा मौसमी रुघाखोकी देखिएको बताउनु भयो ।