शुक्रबहादुर विक
जुम्ला, २३ भदौ ।
छाउपडी प्रथा अन्त्यका लागि जुम्लाको हिँयाखोलाका गाँउका धामी झाँक्रीहरु नै सक्रिय भएर लागेका छन ।
लाम्रा गाविस ६ हिँयाखोलामा विगत ३ वर्ष देखि उनीहरु छाउपडी प्रथा विरुद्ध सक्रिय हुदै आएका छन ।
महिलाहरुले जति बुझे पनि घरमा पुरुषहरुले सहयोग नगरेपछि महिलाहरुको पहलमा छाउपडी न्यूनिकरणका लागि परिर्वतन पूरुष सहयोगी समुहको निर्माण गरिएको छ ।
छाउपडीका कारण महिलाहरुको बलात्कार लगायतका विभिन्न अपराध हुने भएका कारण स्थानियको पहलमा समुह निर्माण भएको हो ।
हिँयाखोलाका झाँक्री कृष्ण रोकायको नेतृत्वमा २५ सदसीय समिति गठन गरिएको छ ।
झाँक्री रोकायले १५ वर्ष देखि समुदायमा झाँक्रीको काम गरिरहेको बताउदै मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउन सके मात्र छाउपडी न्युनिकरण हुने उल्लेख गनुृभयो ।
आगामी ६ महिनामा आफ्नो गाँउलाई छाउपडी मुक्त गाँउ धोषणा गर्ने लक्ष्य रहेको झाँक्रीहरुले प्रतिवद्धता जनाएका छन ।
गाँउमा अहिलेसम्म कुनै पनि व्यक्ति सरकारी जागिरे र विएड पास पनि नभएकोले आगामी दिनमा बालवालिकाहरुलाई शिक्षामा केन्द्रित गर्ने गरी अभियान संचालन गर्ने समेत वताएको छ ।
कार्यक्रमका सहभागीहरुले गाँउमा रहेको एउटा प्राविमा अहिले सम्म कुनै पनि सरकारी निकायले दरवन्दी समेत नदिदा सामुदायिक विद्यालयमा समुदायले नै रकम उठाएर संचालन गरिरहेको गुनासो गरेका छन ।
यो गाँउमा एक्सन वक्र्स नेपालले विगत ३ वर्ष देखि महिलाहरुको समुह निर्माण गरि छाउपडीका सवालका काम गरी रहेको छ ।